चिनियाँ कम्पनीद्वारा सिद्धार्थ राजमार्गअन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम सुरू
2024-01-19 15:50:06cri
Share with:

सिद्धार्थ राजमार्गअन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम सुरु भएको छ। नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सिद्धबाबामा आजबाट सुरुङ खन्ने काम औपचारिकरूपमा सुरु भएको जानकारी गराउनुभयो।  यो परियोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले पाएको छ ।

 

यहाँ कुल १ हजार १ सय २६ मिटर लामो सुरुङ बन्ने छ । यसबाहेक बुटवल र पाल्पातर्फको ७ सय ८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहित संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ।राजदूत सोङले आयोजनामा काम सुरुवात गरेकोमा कम्पनीलाई बधाइसमेत दिनुभयो। उहाँले पोखरासँग जोड्ने सुरुङमार्ग पूरा भएपछि त्यस क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान गर्ने बताउनुभयो।

 

सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सम्पन्न भएको हो। सीएससीईसीले इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपीसी) मोडेलमा सुरुङमार्गको ठेक्का पाएको हो। यो आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो।

 

अहिले नारायणगढ–बुटवल सडकखण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङमार्ग बनाउन थालेको हो । यो सडकखण्डको काममा ढिलाइ गर्दा आलोचना बेहोरेको कम्पनीले अबको चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ।

सिद्धबाबा सुरुङका लागि १ मंसिर २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो। ९ जेठ २०७८ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो।

 

अनलाइनखबरका अनुसार यो निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको कामसमेत गरिदिनुपर्ने सर्त छ। यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायात साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको थियो ।

 

आयोजनाका अनुसार त्यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइने छ। यसले सडक माथिबाट खस्ने ढुंगा सिधै तल झार्ने छ । यसरी कुल तीन किलोमिटर सडक सुरक्षित गराउने योजना छ ।

 

सुरुङमार्गका तीन स्थानमा खुला ठाउँ राखिने छ । आकस्मिक घटना भइहाले सोही स्थानबाट उद्धारको काम हुनेछ । सुरुङमार्ग निर्माण गर्न १६ पुसबाट सिद्धार्थ राजमार्गसमेत ६ घण्टा बन्द गरिएको छ । यहाँ सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल तथा स्लोपको काम गर्दा सडक साँघुरो हुने भएपछि बाटो बन्द गरी काम थालिएको आयोजनाको भनाइ छ ।