नेपाली श्रमिकको पहिलो गन्तव्य युएई
2024-01-19 15:52:15cri
Share with:

चालू आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको छ महिनामा तीन लाख ४३ हजार ४०५ जनाले श्रम स्वीकृति लिएकामा युएईका लागि लागि ८४ हजार ८५९ जनाले श्रम स्वीकृति लिएका छन्।

 विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको सुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गएका दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकामा यस वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य देश बन्न सफल भएको उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य देश रहेको युएई यस वर्ष भने सुरुदेखि नै पहिलो गन्तव्य बन्न सफल भएको छ । यस अवधिमा दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा कतारमा ६७ हजार ५७० जनाले श्रम स्वीकृति लिएर गइसकेका छन् । तेस्रो गन्तव्य देशमा साउदी र चौथो श्रम गन्तव्य देशमा मलेसिया रहेका छन् । यस अवधिमा साउदी अरब जानका लागि ६६ हजार २९६ जनाले श्रम स्वीकृति लिएका छन् भने चौथो श्रम गन्तव्य देश मलेसियाका लागि ४८ हजार ७६४ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै यस अवधिमा कुवेतका लागि १९ हजार ९३३ जना र दक्षिण कोरियाका लागि सात हजार १८५ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार चालु आव २०८०/८१ को पहिलो छ महिनामा सबभन्दा बढी मङ्सिर महिनामा ७१ हजार २७६ जना रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्। चालु आवको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३४ श्रम स्वीकृति लिएका छन् भने कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।