नेपालमा आगामी लगानी सम्मेलनको तयारी
2024-01-19 15:51:08cri
Share with:

सरकारले यही आर्थिक वर्षमा लगानी सम्मेलन गर्दै छ। यसअनुसार आगामी वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने मिति नै घोषणा गरेर तयारी थालिएको छ। त्यसको विभिन्न आवश्यक समिति नै गठन भइसकेको छ। अर्थमन्त्री प्रकाशशरण महत स्वयंको नेतृत्वमा निर्देशक समिति बनिसकेको छ।

 

उक्त समितिले लगानी सम्मेलनको ढाँचा र कार्यतालिका निर्धारण गर्नेछ। मुख्यतया यो मूल समितिसरहको हुने भनिएको छ। सोही समितिको ३ पटक बैठक पनि बसिसकेको अर्थ मन्त्रालयले बताएको छ। यसबाहेक नीतिगत सुधार समिति भौतिक पूर्वाधार तथा यातायत सचिवको नेतृत्वमा छ। यस समितिले नीतिगत सुधारका आवश्यक कामहरु गर्नेछ। त्यसमा तालुकदार निकायका सहसचिवहरु हुनेछन्। त्यस्तै, अर्को प्राविधिक समिति छ। त्यस समितिले विकासे मन्त्रालयलाई आयोजना र ती आयोजनाको पछिल्लो अवस्थाबारेको रिपोर्ट तयार गर्ने काम गर्छ। यस समितिको उद्योग वाणिज्य तथा आपूर्ति सचिव नेतृत्वमा यो समिति हुनेछ।

 

नेपालखबर अनलाइनका अनुसार अर्को एक मुख्य समिति पनि छ। त्यो समितिले भने मुख्य आयोजनाहरु शोकेस गर्ने र गराउने तयारी गर्नेछ। आयोजना तयारीको रुपमा रहेको यो समिति मुख्यसचिव  वैकुण्ठ अर्यालको संयोजकत्वमा छ।संघ, प्रदेश र स्थानीय तहका शोेकेसमा लैजान सकिने सम्भाव्य आयोजनाको विवरण तयार गर्ने काम यसले गरिरहेको छ।

लगानी बोर्डका सीईओ सुशील भट्ट यी समितिहरुबाट नै काम भइरहेको बताउनुहुन्छ। ‘लगानी सम्मेलन आफैँमा लगानीको ‘जर्नी’ हो त्यसकारण लगानीकर्तालाई जुटाउने र कंक्रिट (ठोस) रुपमा आयोजनाहरुबारे बुझाउने काम यसमा हुने गर्छ’, उहाँले भन्नुभयो।

लगानी सम्मेलनमा जोडिने अन्तर्क्रिया, छलफलको काम निरन्तर चलिरहेको जानकारी दिँदै उहाँले लगानीयोग्य वातावरण तयार गर्ने र कार्यक्रम सुधारका काम र उत्पादन कस्तो रहने विषय महत्वपूर्ण हुने बताउनुभयो।

 

यसैबीच सरकारले यो पटक ठूला आयोजनाहरुमा समझदारी गराउने गरी नै लगानी सम्मेलन गर्ने अर्थमन्त्री महतले समेत बताउँदै आएका छन्। विभिन्न सार्वजनिक फोरमहरुमा उनले नाममात्रैको लागि लगानी सम्मेलन नहुने बताउँदै आएका छन्।

अर्थमन्त्रीले यसो भनिरहँदा अहिलेदेखि नै ठूला आयोजनामा विदेशी लगानीकर्ताले चासो समेत देखाइरहेका छन्।

 

उदाहरणको लागि निजगढ विमानस्थल निर्माणको छलफलमा भारतकै ठूलो लगानीकर्ता अदानी ग्रुप नेपाल आएर छलफल समेत गरिसकेको छ। नेपालमा आएको उक्त ग्रुपको प्रतिनिधिले लगानीको लागि औद्योगिक घराना चौधरी ग्रुपको समन्वयमा छलफल गरेको हो। उक्त छलफलको क्रममा निजगढ विमानस्थलमा चासो व्यक्त गरेको थियो।

 

लगानी सम्मेलनमा सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना शोकेस गर्ने तयारी गरिरहँदा अदानी ग्रुपले चासो दिनु र नेपालबाट पनि छलफल जारी राखिनुले समझदारी हुनसक्ने देखिएको छ। नेपाली समन्वयकर्ताहरुले पनि यसमा सोहीअनुसार तयारी गरेको स्रोत बताउँछ।

यो विमानस्थल नेपालको महत्वपूर्ण आयोजनामध्ये लगानी सम्मेलनमा पेश हुनेछ। विमानस्थल बनाउन सुरुमा १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो लगानीले सुरुमा एउटा रनवेसहितको विमानस्थल निर्माण हुनसक्ने अनुमान छ।