स्वदेशी वस्तु खरिद अनिवार्य गर्न आग्रह
2024-01-20 16:22:59cri
Share with:

नेपाल उद्योग परिसंघले स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न आग्रह गरेको छ । राजधानीमा बिहीबार आयोजित स्वदेशी मिट एन्ड ग्रिटमा परिसंघले यस्तो आग्रह गरेको हो । परिसंघले स्वदेशी अभियानमा आबद्ध उद्योगका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नेलगायत गतिविधि सञ्चालन गरिरहेको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले जनाउनुभयो ।

 

स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि वार्षिक बजेटमा नीतिगत सुझाव दिने, आन्तरिक एवं बाह्य सञ्जालमा स्वदेशी वस्तु तथा सेवाको पहुँच बढाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य, बिजनेश टू बिजनेस (बीटूबी) पोर्टल सञ्चालनलगायत कार्य गरिरहेको उहाँको भनाइ छ।

 

सरकारी एवं सार्वजनिक संस्थानलाई स्वदेशी वस्तु खरिदका लागि आवश्यक वातावरण सरकारले मुख्यसचिव वैकुण्ठ अर्यालले बताउनुभयो। निजी क्षेत्रलाई समेत स्वदेशी वस्तु खरिद गर्न आग्रह गर्दै उहाँले मेक इन नेपाल स्वदेशी अभियानलाई सरकारले सुरुवातदेखि नै स्वामित्व लिएको जानकारी दिनुभयो। स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्न परिसंघले उठाइरहेको जग्गाको हदबन्दी, कानुन संशोधनलगायत विषयलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ।

 

२० प्रतिशत महँगो भए पनि स्वदेशी सामान खरिद गर्नुपर्ने निर्देशिका अन्तिम चरणमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताउनुभयो। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार लागिरहेको र परिसंघका नीतिगत सुझाव मननयोग्य रहेको उहाँको भनाइ छ ।