निजी क्षेत्र तथा विकास साझेदारसागको सहकार्यमा सरकारले लगानी सम्मेलन गर्ने
2024-01-20 16:21:03cri
Share with:

अर्थमन्त्री प्रकाशशरण महतको संयोजकत्वमा बसेको निर्देशक समितिको दोस्रो बैठकले आगामी वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन गर्ने जनाएको छ । निर्देशक समितिको बैठकले शुक्रबार लगानी सम्मेलनको मिति तय गरेको हो । यसअघि मंसिर १० मा बसेको निर्देशक समितिको पहिलो बैठकले वैशाख ९ र १० मा सम्मेलन गर्ने गरी तयारी सुरु गरिएको जनाएको थियो ।

 

यसअघि कात्तिक २३ मा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ९ र १० मा तेस्रो लगानी सम्मेलन–२०८१ आयोजना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार नै लगानी सम्मेलनको मिति सारिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जनाउनुभयो। मन्त्रिपरिषद् बैठकले नै वैशाख १६ र १७ मा लगानी सम्मेलन गर्ने मिति संशोधन गरेको थियो, सोहीअनुसार सम्मेलनको मिति तय गरिएको हो,’ उहाँले भन्नुभयो। निजी क्षेत्र तथा विकास साझेदारसँगको सहकार्यमा सरकारले लगानी सम्मेलन गर्न लागेको हो ।

 

बैठकमा अर्थमन्त्री महतले तेस्रो लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिनुभयो । लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो।

 

सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई अर्थमन्त्री महतले आह्वानसमेत गर्नुभयो। बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो ।

कान्तिपुर अनलाइनका अनुसार लगानी सम्मेलन आयोजना गर्न सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ । नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ ।

 

यी सबै समिति र कार्यदलले आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन् । निर्देशक समितिको दोस्रो बैठकले अवधारणा, कार्यक्रमको ढाँचा, लोगो, नारालगायत स्वीकृत गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले जनाउनुभयो । पहिलो लगानी सम्मेलन सन् २०१७ मा भएको थियो । दोस्रो लगानी सम्मेलन सन् २०१९ मा आयोजना गरिएको थियो । कोरोना महामारी, विश्व अर्थतन्त्रको अवस्थालगायत विविध कारणले लगानी सम्मेलन गर्न ढिलाइ भएको समेत उहाँले सुनाउनुभयो।

 

‘लगानीयोग्य वातावरण सुदृढ गर्ने, राम्रो म्यासेज पनि दिने, प्रचुर सम्भावना भएका क्षेत्रमा लगानीकर्तालाई कसरी भित्र्याउनेसहित कार्यक्रमको निमन्त्रणा पठाउनुपर्ने काम पनि तदारुकताका साथ गर्न निर्देशक समितिले निर्देशन दिएको छ,’ उहाँले भन्नुभयो । साढे चार खर्बको आयोजना निर्माण चरणमा, साढे २ खर्बको निर्माण उन्मुख रहेको भन्दै उहाँले थप्नुभयो, ‘ठूला लगानीका लागि लगानी बोर्ड नै हो, त्यसैले धेरै प्रोजेक्ट पाइप लाइनमा छ, केही मूल्यांकनका क्रममा छन्, केही वार्ता चरणमा छन्, यी सबै विगतकै लगानी सम्मेलनको नतिजा हो।’