यो वर्ष सात लाख नेपाली युवा विदेश जाँदै
2024-01-21 15:51:48cri
Share with:

गत वर्षजस्तै चालु आर्थिक वर्षमा पनि रोजगारी खोज्दै विदेश जाने युवाको संख्या ७ लाख माथि पुग्ने देखिएको छ। आवको ६ महिनामै वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै साढे ३ लाख पुगेको छ। यो वर्षका लागि चाडपर्वका महिना सकिएका छन्। त्यसैले आगामी ६ महिनामा विदेश पुग्नेको संख्या अर्को साढे ३ लाख थपिने लगभग निश्चित छ। गत वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाखभन्दा धेरै थियो।

 

वैदेशिक रोजगार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुससम्ममा ३ लाख ४६ हजार युवाले विदेश जान श्रमस्वीकृति लिएका छन्। विभागका निर्देशक लोकनाथ भुसालले चालु आवमध्ये पनि पछिल्लो ३ महिनायता वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको संख्या बढेको बताउनुभयो। ‘ठूला चाडपर्वपछि बिदामा आएर श्रमस्वीकृति लिनेको संख्या बढी देखिएको छ,’ निर्देशक भुसालले भन्नुभयो, ‘श्रमस्वीकृतिको संख्या बढे पनि अनलाइन सेवा विस्तार गरेका कारण ताहाचल कार्यालयमा भने खासै भिडभाड छैन ।’ विभागले हाल अनलाइन प्रणाली ‘फेमिस’ अपग्रेड गरिरहेका कारण भविष्यमा श्रमस्वीकृति लिन अझ सहज हुने जनाएको छ ।

 

गत आर्थिक वर्षको पहिलो ६ महिनामा ३ लाख ९८ हजार श्रमस्वीकृति जारी भएकोमा यो वर्ष सोही अवधिमा ३ लाख ४६ हजारले श्रमस्वीकृति लिएको देखिन्छ । चालु आवको साउनमा ६३ हजार, भदौमा ७६ हजार, असोजमा ५६ हजार, कात्तिकमा ४३ हजार, मंसिरमा ७१ हजार र पुसमा ६५ हजारले श्रमस्वीकृति लिएको देखिन्छ । गत आवको यो अवधिको तुलनामा चालु आवमा ५२ हजार कम श्रमिकले श्रमस्वीकृति लिएको भए पनि ठूला चाडपर्व सकिएका कारण आगामी ६ महिनामा बढ्ने विभागको अनुमान छ। मलेसियालगायत कतारमा नेपाली श्रमिकको सेवा सुविधा र माग वृद्धि भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या उल्लेख्य वृद्धि भएको भुसालले बताउनुभयो।

कारोबार अनलाइनका अनुसार पछिल्लो समय साउदी अरब जानेको संख्या घटेर मलेसिया र कतार जाने बढ्दै गइरहेको देखिएको छ । पुस महिनाको तथ्यांकले खाडी राष्ट्रमध्ये पनि यूएई जानेको संख्या बढेको देखाएको छ । गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको छैटौं महिनामा समेत उच्च देखिनुले आगामी वर्ष पनि रेमिटेन्स वृद्धि हुने देखिन्छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका अनुसार साउनमा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ श्रमिकले श्रमस्वीकृति लिएकोमा पुसमा ६६ हजारको हाराहारी पुगेको छ ।

 

लकडाउनयता आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत डेढ वर्षयता वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि कायम छ। अघिल्ला दुई आर्थिक वर्ष प्रमुख श्रम गन्तव्यमा रोजगारीका लागि जाने युवाको संख्या घट्दो थियो। तर, गत आवबाट बढ्दै गइरहेको देखिन्छ । अघिल्लो आवमा ७ लाख ७१ हजार युवाले श्रमस्वीकृति लिएका थिए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा र श्रमस्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती नपाउने गरी सहज वातावरण बनाउन निर्देशन दिनुभएको छ। यसरी विदेश जाने नेपालीले विमानस्थलमा सास्ती झेल्नुपरेको गुनासो आएको भन्दै उहाँले त्यस्तो काम तत्काल बन्द गर्न निर्देशन दिनुभएको हो।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रममन्त्री शरदसिंह भण्डारी, मुख्यसचिव वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग बुधबार भएको छलफलमा प्रधानमन्त्रीले भने, ‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु। भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नुहोला। जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।’