काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड
2024-01-22 15:46:57cri
Share with:

काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले काठमाडौँमा सोमबार यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ। 

यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो। उक्त रेकर्ड ब्रेक गर्दै सोमबार शून्य दशमलव दुई डिग्रीमा झरेको हो। सोमबार काठमाडौँ उपत्यकामा पारदर्शिता पनि घटेको छ। उहाँका अनुसार बढी चिसो अनुभव भएको छ। 

बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ। उहाँले परदर्शिता तीन हजार मिटर रहेको बताउनुभयो। यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा सोमबार भने पारदर्शिता पनि घटेको हो। त्यसका कारण काठमाडौँमा सोमबार बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ। चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ। लागेको घाम पनि न्यानो खालको छैन।

महाशाखाले चिसो बढिरहेको बताएको छ। तराईका भूभागमा हुस्सु र कुहिरोले कुनै दिन खुल्ने कुनै दिन बेलुकासम्म नै हुस्सु कुहिरो लागिरहने गरेको पनि उहाँले बताउनुभयो। त्यसका कारण बढी चिसो महसुस हुने गरेको छ।  

आइतबार रेकर्ड गरिएको तथ्याङ्कअनुसार जुम्लामा माइनस पाँच दशमलव छ डिग्री, जोमसोम माइनस पाँच डिग्री र दोलखाको जिरीमा एक डिग्री तापक्रम रेकर्ड गरिएको छ। आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ। 

तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

रासस