मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति पुर्‍याएको तथ्यांक सार्वजनिक
2024-01-23 15:32:47cri
Share with:

मेलम्चीमा २०७८ सालको बाढी र पहिरोले एक घरधुरी बराबर करिब ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ। वातावरणविद प्रविणमान सिंह र अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाको सहयोगमा गरेको अध्ययनपछि क्षतिको तथ्यांक सार्वजनिक गरिएको अनलाइन खबरले लेखेको छ।

सोमबार काठमाडौंमा आयोजित तथ्यांक सार्वजनिक कार्यक्रममा अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १२० घरधुरी सर्वेक्षण, दुई वटा पालिकास्तरीय छलफल कार्यक्रम र १४ जना यससँग सम्बन्धित सूचना दिनसक्ने व्यक्तिहरुसँग सूचना संकलन गरेर रिपोर्ट तयार पारेको बताउनुभयो।

‘मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको तथ्यांक तथा पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी औसतमा ७० लाख रुपैयाँ बराबरको आर्थिक हानि, नोक्सानी भएको पाइएको छ,’ उहाँले भन्नुभयो। उहाँका अनुसार अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरुले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको थियो।

गैर आर्थिक हानि नोक्सानी तथ्यांक यसमा समेटिएको छैन। बाढीले प्रत्यक्ष हानि नोक्सानीभन्दा बढी गैरआर्थिक हानि नोक्सानी गरेको उहाँले बताउनुभयो। अध्ययनले बाढी पहिरोबाट प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा मनोसामाजिक समस्या पनि देखिएको पराजुलीको भनाइ छ।

कार्यक्रममा वातावरणविद् प्रविणमान सिंहले नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा अध्ययन गरिएको दाबी गर्नुभयो। यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको जानकारी पनि उहाँले दिनुभयो।

कार्यक्रममा मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले मेलम्चीमा बाढी आएलगत्तै आफूहरुले घरधुरीको आधारमा राहत दिएको र पुनर्निर्माणको कामलाई तीव्रता दिएको बताउनुभयो। उहाँले नेपाल सरकारको नीतिमै नभएको कृषकलाई लालपूर्जाको आधारमा प्रतिघरधुरी १० हजार रुपैयाँको दरले राहत उपलब्ध गराएको पनि बताउनुभयो।

मेलम्ची नगरपालिकाले हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लागतमा २४४ वटा घर पुनर्निर्माणको काम गरिरहेको वातावरण अधिकृत दुलालले जानकारी दिनुभयो।