पर्यटन बोर्डमा चिनियाँ फोटो प्रर्दशनी
2024-01-23 15:29:45cri
Share with:

नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काठमाडौँमा नेपाल सान्तोङ (पिन्चु) सांस्कृतिक सप्ताह तथा सान्तोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको छ। नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको प्रान्तको सानतोङ प्रान्त र सान्तोङ (पिन्चु) फोटोग्राफी एसोसिएसनको आयोजनामा सुरु भएको प्रदशनी एक सातासम्म चल्ने जनाइएको टक्सार न्युज अनलाइनले लेखेको छ।

चिनियाँ नयाँवर्षको अवसरमा आयोजना गरिएको यो फोटो प्रर्दशनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रहिआएको उल्लेख गर्दै फोटो प्रदर्शनीले दुई देशबिचको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनुभयो।

“नेपालको पर्यटन प्रर्वद्धन गर्न हामीले चिनियाँ दूतावाससँग मिलेर विभिन्न कार्यक्रम आयोजना गरेका छौँ। जसको कारण पनि नेपालमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गईरहेको छ। चिनियाँ नयाँ वर्षको सनर्दभमा आयोजना गरिएको यो फोटो प्रर्दशनीले पनि एक देशले अर्को देशका पर्यटकीय गन्तव्य तथा त्यहाँको संस्कृति चिन्ने मौका मिल्ने तथा पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो।

यस्तै, नेपाल स्थित चिनियाँ दूतावासका काउन्सिलर से यू ले सान्तोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको चर्चा गर्दै फोटो प्रदर्शनीको माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा नेपाल चीन फ्रेन्डसीप फोरमका अध्यक्ष डा. कल्याणराज शर्मा, नाराका अध्यक्ष शिव अधिकारी, पिन्चु फोटोग्राफी एसोसिएसनका अध्यक्ष लि च्याङ मिङ, फोटो पत्रकार महासंघका अध्यक्ष हरिप्रसाद रेग्मी लगायतले यस प्रकारको फोटो दुवै देशमा आयोजना गर्न सके दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनुभयो। फोटो प्रदर्शनीमा सानतोङ प्रान्तका विभिन्न ६० वटा तस्बिर राखिएका छन्।