चिनियाँ राष्ट्राध्यक्ष सी र उज्बेकिस्तानका राष्ट्रपति मिर्जियोयेभबीच भेटवार्ता
2024-01-24 18:54:34cri
Share with:

जनवरी २४ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जनबृहत सभाभवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका उज्बेकिस्तानका राष्ट्रपति शावकट मिरोमोनोभिच मिर्जियोयेभसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा नयाँ युगमा सदाबहार व्यापक रणनीतिक साझेदारी सम्बन्धको विकास गर्ने र उच्च सुरुवातबाट चीन-उज्बेकिस्तान संयुक्त भाग्य समुदायको निर्माणलाई बढाउने निर्णय चीन र उज्बेकिस्तानले गरेको दुवै देशका राष्ट्रनायकहरूले घोषणा गरेका छन्।

भेटवार्तामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ३२ वर्षअघि उज्बेकिस्तान चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका पहिलो मध्य एशियाली देश भएको जनाउनुभयो। विशेषगरी विगत ७ वर्षमा हामीले संयुक्त रूपमा विभिन्न क्षेत्रमा भएका पारस्परिक सहकार्यको नेतृत्व गरेका छौं जसले गर्दा राम्रो अवस्था देखिएको कुरा पनि सीले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयोः नयाँ युगमा सदाबहार व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको मौका पारी हामी दुवै पक्षले अझ उच्चस्तरीय राजनीतिक पारस्परिक विश्वाससहितको संयुक्त भाग्य समुदायको निर्माणलाई  अघि बढाउँदै जाने आवश्यकता रहेको छ। बेल्ट एण्ड रोड अवधारणा सम्बन्धी कार्यको माध्यमबाट चीन र उज्बेकिस्तानका आआफ्ना उच्च गुणस्तरको आधुनिकीकरणका कार्यलाई अगाडि बढाउन प्रयास गर्नुपर्छ।

भेटवार्तामा उज्बेकिस्तानका राष्ट्रपति मिर्जियोयेभले भन्नुभयोः यस वर्ष मेरो पहिलो विदेश भ्रमण चीनको छनौट गरेको ठूलो साङ्केतिक महत्व छ। मेरो भ्रमणमा आपसी विश्वासलाई अझ सुदृढ र प्रगाढ बनाउने र चौतर्फी सहयोगलाई विस्तार गर्ने महत्वपूर्ण अवसरका रुपमा लिएको छु। उज्बेकिस्तान एक चीन भन्ने सिद्धान्तको दृढतापूर्वक पालना गर्दछ, बाह्य शक्तिहरूद्वारा चीनको आन्तरिक मामिलामा हस्तक्षेपको दृढतापूर्वक विरोध गर्दछ। थाइवान, सिन्च्याङ र मानव अधिकार जस्ता चीनको मुख्य हितसँग सम्बन्धित मुद्दाहरूमा चीनलाई दृढतापूर्वक समर्थन गर्न तयार छ।

भेटवार्तापछि दुवै देशका राष्ट्रनायकहरूले नयाँ युगमा सदाबहार व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापना सम्बन्धि संयुक्त वक्तव्यमा हस्ताक्षर गरी जारी गर्नुभएको छ। बेल्ट एण्ड रोड अवधारणा, विश्वव्यापी विकास प्रस्ताव, आर्थिक र प्राविधिक सहयोग, कनेक्टिभिटी, वातावरणीय संरक्षण, नयाँ ऊर्जा, विज्ञान र प्रविधि, जनता-जनता, कृषि उत्पादनहरू लगायत विषयहरूमा पनि कागजातहरूको शृङ्खलामा हस्ताक्षर गरेका छन्।

वार्ताअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँकी श्रीमती फङ लियुआनले जनबृहत सभाभवनमा मिर्जियोयेभ र उहाँकी श्रीमतीका लागि स्वागत समारोह आयोजना गर्नुभयो।

सोही दिन बेलुकी राष्ट्राध्यक्ष सी र श्रीमती फङले उज्बेकिस्तानी राष्ट्रपति मिर्जियोयेभ र उहाँकी श्रीमतीका लागि स्वागत रात्रिभोजको पनि आयोजना गर्नुभयो।