नेपाल आउने विदेशी कामदारमध्ये सबैभन्दा धेरै चिनियाँ
2024-01-24 15:42:15cri
Share with:

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको संख्या २४ प्रतिशतले बढेको छ। चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न १ हजार १४२ विदेशीलाई श्रमस्वीकृति प्रदान गरिएको छ। गत वर्षको साउनदेखि पुससम्म श्रमस्वीकृति लिनेको संख्या ९१८ थियो। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोपले गत वर्षको तुलनामा श्रमस्वीकृति लिने गैरनेपालीको संख्या बढेको बताउनुभएको कारोबार अनलाइनले लेखेको छ। कोभिडपछि चालु आवमा ठूला परियोजना सञ्चालन हुन थालेपछि रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको उहाँको भनाइ छ। सबैभन्दा बढी श्रमस्वीकृति लिने चिनियाँ नागरिक छन्। चालु आवको पुससम्म ७७२ जना चिनियाँले नेपालमा काम गर्न श्रमस्वीकृति लिएका छन्। यसैगरी बेलायत र अमेरिकाबाट ४५–४५, कोरियाबाट ३३, जापानबाट २९ र अन्य देशबाट २१८ जनाले श्रमस्वीकृति लिएको तथ्यांक छ।

नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन्। रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक कामदार विदेशीले श्रमस्वीकृति लिएको देखिन्छ।

नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी राख्न पाउने व्यवस्थाअनुसार विदेशीलाई नेपालमा काम गर्न अनुमति प्रदान गरिएको हो। गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या केही बढेको छ। कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको थियो। परियोजनाहरु सुचारु हुन थालेपछि काम गर्न आउने विदेशीको संख्या पनि बढेको हो।

विभागका निर्देशक गोपले आर्थिक वर्षको शुरुमा श्रमस्वीकृति लिने विदेशी घटेको देखिए पनि अब क्रमशः बढ्ने बताउनुभयो। विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रमस्वीकृति लिने विदेशीको संख्या बढ्दो दरमा रहेको देखिन्छ। गत आवको पुससम्म नवीकरण र नयाँ गरी १ हजार १४६ विदेशीले श्रमस्वीकृति लिएका थिए। चालु आवको सोही अवधिमा नयाँ श्रमस्वीकृति र नवीकरण गर्नेको संख्या सामान्य बढेर १ हजार १४२ पुगेको छ।

विदेशी नागरिकहरुको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ। यसबाहेक नेपाल सरकारका विभिन्न निकायहरुसँग भएका सम्झौता बमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदार पनि यहाँ आउने गरेको पाइन्छ। यसरी दक्ष नेपाली श्रमिकले स्वदेशमा रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिक आउँदा अर्बां रुपैयाँ विदेश जाने गरेको छ।

विदेशीले काम गर्ने कतिपय परियोजनाले नेपाली श्रमिक कटौती गरी विदेशी श्रमिक यथावत् राख्ने गरेको पाइए पनि त्यसको अनुगमन हुन सकेको छैन। नेपाली श्रमिकलाई प्राथमिकता दिई यहाँ उपलब्ध हुन नसकेका दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई मात्र श्रमस्वीकृति दिनुपर्ने विज्ञहरुको सुझाव छ। नेपालमा काम गर्ने विदेशीको श्रमस्वीकृति अधिकतम ६ वर्षसम्म नवीकरण हुने व्यवस्था छ। यसैगरी एकै प्रकृतिको कामका लागि श्रमस्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम पनि छ। नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सक्ने प्रावधान श्रम ऐनमा छ।