१ सय २८ मुलुकसँग नेपालको व्यापार घाटा
2024-01-25 15:56:53cri
Share with:

निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ मुलुकसँग घाटा बेहोरिरहेको छ । स्वदेशमै उत्पादन हुने वस्तुमा समेत परनिर्भर हुँदा व्यापार घाटा चुलिएको कान्तिपुर अनलाइनले लेखेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ खर्ब ९३ अर्ब घाटा भएको भन्सार विभागको तथ्यांक छ । सबैभन्दा बढी व्यापार घाटा छिमेकी मुलुक भारत र चीनसँग छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले १ सय ५५ मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । यसमध्ये १ सय २८ मुलुकसँगको व्यापार घाटा र २७ मुलुकसँगको व्यापार नाफा छ । व्यापार घाटा खर्ब र अर्ब रुपैयाँमा भइरहँदा नाफा भने करोड र लाखमा देखिएको छ । आयात–निर्यात व्यापारमा सबैभन्दा अगाडि भारत नै छ । भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोडको आयात हुँदा ५० अर्ब ४४ करोडको निर्यात भएको छ । अर्थात् ६ महिनाको अवधिमा भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँ घाटा भएको छ ।

दोस्रोमा चीनसँग घाटा देखिएको छ । ६ महिनामा १ खर्ब ४५ अर्ब ७९ करोड घाटा भएको छ । १ खर्ब ४७ अर्ब ३९ करोडको आयात हुँदा १ अर्ब ६० करोडको मात्रै निर्यात भएको छ । जानकारका अनुसार पारवाहन लागत, उद्योगभन्दा ट्रेडिङ नीति, तुलनात्मक लाभका वस्तु परिमार्जित नहुँदा व्यापार बढ्न नसकेको हो । कृषिमा पराम्परागतबाट माथि नउठेको पूर्वसहसचिव रवि सैंजूले जनाउनुभयो।

‘स्वदेशमै उत्पादन गर्ने वस्तुमा निरुत्साहित हुने काम भएको छ । कृषिकै कुरा गर्दा हामीले पराम्परागत उत्पादनमा मात्रै ध्यान दिएका छौं । विदेशी स्वाद, चाहनाअनुसार उत्पादनमा ध्यानै दिएनौं,’ उहाँले भन्नुभयो, ‘यसमा सरकारको पनि दोष छ । सिमेन्ट उद्योगबाहेक अन्य सबै निरुत्साहित छन् । तुलनात्मक लाभका वस्तुबाहेक अन्यमा केन्द्रित हुनै सकेनौं ।’ उहाँका अनुसार तुलनात्मक लाभ (एनटीआईएस) का वस्तुमा दुई दशकदेखि उही वस्तु नै छन् । तर तिनको गुणस्तरमा ध्यान दिन सकेका छैनौं । यीबाहेक नयाँमा पनि धेरै परिवर्तन हुनुपर्ने सैंजूले बताउनुभयो।

‘निजी र सरकारी क्षेत्र उस्तै भयो । बजारमा के आवश्यक, कस्तो गुणस्तरको सामान चाहिन्छ, अध्ययन गर्नुपर्थ्यो । गुणस्तरको कुरा सबै संकलन गरेर निजी क्षेत्रलाई दिनुपर्‍यो,’ सैंजूले भन्नुभयो, ‘अहिले निजीको प्रयासले मात्रै भएको छ । सरकारी प्रयास पुगेकै छैन ।’ यूएईसँग १२ अर्ब २६ करोड घाटा झएको छ । युत्रेनसँग ९ अर्ब ९६ करोड, मलेसियासँग ८ अर्ब ६० करोड, अस्ट्रेलियासँग ६ अर्ब ८३ करोड र इन्डोनेसियासँग ६ अर्ब ३१ करोड व्यापार घाटा छ ।

यीबाहेक सार्क मुलुकसँग पनि घाटा छ । बंगलादेशसँग २ अर्ब ३ करोड घाटा रहेको विभागले जनाएको छ । ६ महिनामा बंगलादेशबाट २ अर्ब १६ करोडको आयात र १२ करोडको निर्यात भएको छ । भुटानसँग ३५ करोड घाटा छ । ६३ करोड ३१ लाखको आयात हुँदा २८ करोडको मात्र निर्यात भएको छ । पाकिस्तानसँग पनि ३८ करोड ५० लाखको आयात हुँदा १ करोड २८ लाखको निर्यात भएको छ । श्रीलंकाबाट १२ करोड ३० लाख बराबरको वस्तु आयात हुँदा ५२ लाखको मात्रै निर्यात भएको छ । माल्दिभ्स र अफगानिस्तानसँग भने नाफा छ । माल्दिभ्सबाट ५ लाखको वस्तु आयात हुँदा २ करोड ४० लाखको निर्यात भएको छ । अफगानिस्तानबाट १ करोड १६ लाखको आयात हुँदा २ करोड २१ लाखको निर्यात भएको छ ।

नेपालको पारवाहन लागत नै महँगो रहेको सैंजूको भनाइ छ । हामीले पूर्वको उत्पादन पश्चिममा पुर्‍याउन सक्दैनौं । बरु भारतबाट आयात गर्दा सस्तो पर्छ । नेपाली उत्पादन लागतकै कारण महँगो पर्छ, जसले गर्दा प्रतिस्पर्धा गर्न नसकिएको उहाँले जनाउनुभयो । ‘भारतमा लजिस्टिक खर्च १५ प्रतिशत लाग्छ, त्यसलाई ७/८ प्रतिशतमा झार्ने तयारी भइरहेको छ । चीनमा यस्तो खर्च ११/१२ प्रतिशत छ,’ सैंजूले भन्नुभयो, ‘तर, नेपालमा लजिस्टिक खर्च २५/३० प्रतिशतसम्म छ ।’

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गोदाम हुनुपर्छ । त्यो नहुँदा पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकिएको सैंजूको भनाइ छ । व्यापार बढाउन नीति बनेको छ । तर त्यो नीतिमा मात्रै सीमित बनेको उहाँले जनाउनुभयो । ‘नेपालमा उद्योग खोल्नै गाह्रो हुन्छ । सरकारी निकायबीच समन्वय अभावलगायत समस्या उस्तै छन्,’ उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको संरचना नै आयातमुखी हुँदा समस्या भयो ।’ नेपालले गर्ने व्यापारमध्ये सबैभन्दा बढी अमेरिकासँग ७० करोड ३६ लाख नाफा गरेको छ ।

डेनमार्कसँग २७ करोड १४ लाख, नर्वेसँग ६ करोड ४८ लाख, माल्दिभ्ससँग २ करोड ३५ लाख र लाटभियासँग १ करोड ७६ लाख नाफा गरेको छ । ६ महिनामा ८ खर्ब ४३ अर्ब १३ करोडको वैदेशिक व्यापार भएको छ । यसमध्ये ७ खर्ब ६८ अर्ब १६ करोडको आयात र ७४ अर्ब ९६ करोडको निर्यात भएको छ ।