डिजेल आयात अठार प्रतिशतले घट्यो
2024-01-25 15:55:06cri
Share with:

नेपालको बजारमा डिजेलको खपतमा कमी आएको छ। आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो। डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको गोरखापत्र अनलाइनले लेखेको छ। 

नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ किलोलिटर आयात भएको हो। 

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द साहले विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको जानकारी दिनुभयो। बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको उहाँको भनाइ छ। 

विकास निर्माणको काममा डिजेलको खपत बढी हुने गरेकोमा गत वर्षदेखि आर्थिक सङ्कटका कारण तीव्र गतिमा काम हुन सकेको छैन। जसको कारणले गर्दा पनि डिजेलको खपतमा कमी आएको हो। विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठुला सवारी साधनमा बढी प्रयोग हुने गर्छ। औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशतले डिजेल खपत हुने गरेको छ। पछिल्लो समय बिजुलीका सवारीसाधनको प्रयोग बढ्दै गएकाले पनि डिजेलको खपतमा कमी आएको हो। 

 सामान्य अवस्थामा एक लाख ४० हजार किलोलिटर डिजेल खपत हुने गरेकोमा हाल घटेर मासिक ९४ हजार ४०५ किलोलिटरमा झरेको छ। 

यस्तै पेट्रोलको खपत भने दुई प्रतिशतले बढेर तीन लाख १५ हजार ५६ किलोलिटर पुगेको छ। हाल मासिक बजारमा ५७ हजार २८२ किलोलिटर खपत हुने गरेको छ। हवाई इन्धनको खपत भने ९.१४ प्रतिशतले बढेर ८६ हजार ७२४ किलोलिटर पुगेको छ। हाल मासिक हवाई इन्धनको खपत १५ हजार ७६८ किलोलिटर रहेको छ। मटितेलको खपत भने २१.६१ प्रतिशतले घटेर चार हजार ६७२ किलोलिटर रहेको छ। यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य एक प्रतिशतले घटेर दुई लाख ३६ हजार ३७९ मेट्रिक टन आयात भएको छ। 

निगमका अनुसार छ महिनामा एक खर्ब १५ अर्ब २१ करोड ५८ लाख ५१ हजार रुपियाँको कुल पेट्रोलियम पदार्थ आयात ( डिजेल, मटितेल, पेट्रोल, ग्यास हवाई इन्धन) इन्धन आयात भएको छ। गत वर्ष सो अवधिमा एक खर्ब ४६ अर्ब ७६ करोड ४५ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो। 

हाल बजारमा पेट्रोल प्रतिलिटर १६३, डिजेल प्रतिलिटर १५५ हवाई इन्धन प्रतिलिटर १३० रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार ८९५ रुपियाँ रहेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्थानीय बजारमा समेत मूल्य घटेको छ।  

यसैबीच छ महिनामा निगमले ११ लाख ६२ हजार किलोलिटर इन्धन आयात गरेर ५१ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ। इन्धन आयातबापत विभिन्न शीर्षकमा ५१ अर्ब १० करोड रुपियाँ राजस्व सङ्कलन भएको हो।  

इन्धन आयात गरी भन्सार नाकामा राजस्व सङ्कलन गरी सरकारी खातामा रकम जम्मा हुने गरेको छ। निगमले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, पूर्वाधार कर, सडक मर्मत दस्तुर, वातावरण शुल्क, मूल्य स्थिरीकरण कोषमा उपभोक्ताबाट कर असुल्ने गरेको छ। पूर्वाधार करबापत डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपियाँ सङ्कलन हुने गर्छ। 

सडक मर्मत दस्तुरबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजेल प्रतिलिटरमा दुई रुपियाँ सङ्कलन हुने गर्छ। वातावरण शुल्कबापत डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ५० पैसा सङ्कलन हुने गर्छ। विभिन्न शीर्षकमा लगाएको करका कारण उपभोक्तालाई थप महँगो पर्ने गरेको छ।