नेपालको समृद्धिमा चीनको बलियो साथको अपेक्षा रहेको नेपालका सभामुखको भनाइ
2024-01-25 15:51:57cri
Share with:

चिनियाँ नयाँ वर्षका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई नेपालका सभामुख देवराज घिमिरेले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नु भएको छ। चीनको सँस्कृति तथा पर्यटन मन्त्रालय, चिनियाँ राजदूताबास तथा आन्हुई प्रान्तीय सँस्कृति तथा पर्यटन विभागले ‘चिनियाँ नयाँ वर्ष तथा नेपालमा सुन्दर आन्हुई’ विषयमा जनवरी २४ तारिख बुधबार काठमाडौँमा कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रममा सभामुख घिमिरेले नेपाल र चीनबीचको सम्बन्धको ऐतिहासिक पक्षदेखि वर्तमान अवस्थासम्मलाई समेटेर महत्वपूर्ण सम्बोधन गर्नु भएको छ।

सभामुख घिमिरेले नेपाल चीनबीचको द्विपक्षीय सम्बन्ध सन् १९५५ अगष्ट १ तारिखमा स्थापना भएको स्मरण पनि गराउनु भएको छ। हिमाल र नदी तथा धर्म र सँस्कृतिले जोडिएका चीन र नेपालबीचको प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको भन्दै यो ऐतिहासिक सम्बन्धले नेपाल र चीनबीच पछिल्ला वर्षहरुमा आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदानको विकासमा समेत उल्लेखनीय उपलब्धि हासिँल हुँदै आएको उल्लेख गर्नु भएको छ। नेपाल र चीनबीचको हिमाल र नदीले जोडेको सम्बन्ध हिउँ र नदीजस्तै पवित्र र हिमालजस्तै विशाल र अटल रहेको पनि उहाँले आफ्नो मन्तव्यमा व्यक्त गर्नु भएको छ।

सन् २०१९ मा २३ वर्षपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गर्नु भएको र उक्त भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लगेको पनि सभामुख घिमिरले बताउनु भएको छ। सोही वर्ष नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्नु भएको भन्दै यस्ता भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको सभामुख घिमिरेले औँल्याउनु भएको छ।

चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले डेढ वर्ष अगाडि गर्नु भएको नेपाल भ्रमण र नेपालका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नु भएको भ्रमणको अन्तरसम्सदीय सहकार्य सम्बन्धी समझदारीले दुवै देशबीचको सम्बन्धलाई थप उचाइमा लगेको पनि उहाँले उल्लेख गर्नु भएको छ।

चीन विश्वको आर्थिक शक्ति रहेको भन्दै चीनलाई अलग गरेर विश्वको आधुनिक व्यवस्थाको कल्पना गर्न नसिकिने कुरामा सभामुख घिमिरेले जोड दिनु भएको छ। चीन पूर्ण रुपमा राजनीतिक स्थायित्व र अनुशासित नागरिक बस्ने मलुकका रुपमा विश्वभर परिचित भएको पनि उहाँले बताउनु भएको छ।

नेपालले एक चीनको सिद्धान्तलाई सदैव पालना गरेको बताउँदै नेपालको भूमि प्रयोग गरेर चीन बिरोधी गतिबिधि हुन नदिन नेपाल सचेत रहेको कुरामा उहाँले जोड दिनु भएको छ। ‘अँध्यारोलाई सराप्नुभन्दा मैनबत्ती बाल्नु राम्रो’ भन्ने चिनियाँ भनाइलाई उल्लेख गर्दै नेपालले पनि समृद्धिको युगतर्फ अगाडि बढिरहेको अवस्थामा चीनको बलियो साथको अपेक्षा गरेको पनि उहाँले उल्लेख गर्नु भएको छ।