तनहुँ जलविद्युतमा २८ सुरुङ निर्माण अन्तिम चरणमा
2024-01-26 15:41:38cri
Share with:

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको प्याकेज–१ र प्याकेज–२ अन्तर्गत् २८ वटा सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म २५ वटा सुरुङ तयार भइसकेका छन् भने बाँकी ३ वटाको काम भइरहेको कान्तिपुर अनलाइनले लेखेको छ।

प्याकेज–१ अन्तर्गत १० वटा र प्याकेज–२ अन्तर्गत १८ वटा सुरुङ खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताउनुभयो। ‘प्याकेज–१ तर्फ २ वटा र प्याकेज–२ तर्फ एउटा सुरुङ खन्ने काम भइरहेको छ। एक हजार ४५६ मिटरको हेडरेस सुरुङमध्ये हालसम्म एक हजार २२० मिटर सुरुङ खनिसकिएको छ भने बाँकी खन्ने कार्य भइरहेको छ,' उहाँले भन्नुभयो।

प्याकेज–२ अन्तर्गत विद्युतगृह कङ्क्रिटिङ, ट्रेलरेस कङ्क्रिटिङ, केबल सुरुङ कङ्क्रिटिङ, ड्राफ्ट ट्युव सुरुङ कङ्क्रिटिङको काम चलिरहेको आयोजनाले जनाएको छ। यो प्याकेजमा भूमिगत विद्युतगृहमा मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कार्यहरू भइरहेका छन्।

हाइड्रोमेकानिकल कार्यअन्तर्गत ठाडो सुरुङमा पेनस्टक पाइप जडान काम पनि भइरहेको छ। हालसम्म २१२.३०९ मिटरमध्ये १०५.२० मिटर पाइप जडान गरिएको आयोजनाले जनाएको छ। यो प्याकेजको निर्माणका लागि चीनको सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता गरिए बमोजिम विसं २०७५ माघ ६ गतेदेखि आयोजना परिचालित भई निर्माण कार्य गरिरहेको छ।

यस्तै, आयोजनाको मुख्य बाँध निर्माण स्थलमा अस्थायी बाँध निर्माण कार्य तीव्र बनाइएको छ। ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीमा मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी नदीको पानी फर्काइएको छ। डाईभर्सन सुरुङ मार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रबाट पुनः सेती नदीमा खसालिएको छ।

आयोजनाको बाँध आगामी मनसुन अगावै सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्र बनाइएको आयोजना प्रमुख शिल्पकारले बताउनुभयो। ‘आगामी मनसुन सुरुहुनुभन्दा पहिले नै बाँध निर्माण गरिसक्ने गरी काम अगाडि बढाइएको छ’, उहाँले भन्नुभयो, ‘नदी फर्काइएपछि बाँध निर्माणका लागि जग खन्ने काम भइरहेको छ।’

प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्राली) नेपाल जेभीसँग विसं २०७८ भदौ १४ गते ठेक्का सम्झौता गरी कार्यान्वयनमा आएको थियो। निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ।

यस्तै, प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतको केइसी इन्टरनेशनल लिमिटेडले काम गरिरहेको छ। ३४.७ किमि प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ। यसैगरी १३ वटा टावरको जग संरक्षण गरिएको आयोजनाले जनाएको छ।

आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ। कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्नेमा एसियाली विकास बैंकले १५ करोड डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख डलर, युरोपेली लगानी बैंकले आठ करोड ५० लाख डलर र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।