पोखरामा चिनियाँ विद्युतीय कार बीवाईडीको नयाँ अत्याधुनिक सोरूम सञ्चालनमा
2024-01-27 16:03:04cri
Share with:

पोखरामा चिनियाँ विद्युतीय कार कम्पनी बीवाईडीको सुविधासम्पन्न सोरूम सञ्चालनमा आएको छ। सोरूम सञ्चालनसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बीवाईडीको एटो ३ कार पनि सार्वजनिक भएको कारोबार अनलाइनले लेखेको छ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले बीवाईडीको सोरूम उद्घाटन गर्नु भएको हो। मन्त्री खड्काले विद्युतीय गाडी प्रवद्र्धनमा प्रदेश सरकार सधैँ लागि रहेको बताउँदै ईभीका लागि आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभयो। पोखरा पर्यटकीय र वातावरणमैत्री सहर भएकाले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको हुनाले निजी क्षेत्रलाई सधैँ सहयोग गर्न सरकार रहेको मन्त्री खड्काले बताउनुभयो।
नाडाका अध्यक्ष ध्रुव थापाले विश्वको नम्बर एक कम्पनी बीवाईडीको कार पोखराको सहरमा आउनु सुखद भएको बताउनुभयो। अबको युग ईभीको युग भएकाले अबको ३ वर्षभित्र ५० प्रतिशत बजार हिस्सा ईभीको हुने थापाले बताउनुभयो।
साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले वातावरणका लागि आवश्यक विद्युतीय गाडीका लागि सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो। साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले एटो ३ को विशेषता र सुविधाका बारेमा जानकारी दिनुभयो।
चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स (बीवाईडी) को एटो ३ लाई बहुप्रतीक्षित प्रिमियम एसयूभी मानिन्छ। एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ। बीवाईडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्ण सुरक्षित पारेको छ। एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ। नेपालमा उपलब्ध बीवाईडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ। यसको एक्सिलेरेसन पावर झन उत्कृष्ट छ। एटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति समाउन सक्छ।
एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ, जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ। त्यसैगरी डिजिटल इन्स्ट्रूमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि यसमा उपलब्ध छ।
एटो ३ को बाहिरी डिजाइन आकर्षक छ। थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलईडी हेडलाइट, एलईडी डीआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलईडी टेल लाइट जडित छन्।
एटो ३ को मूल्य कम्पनीले ८९ लाख ९० हजार राखेको छ। कम्पनीले पोखरामा यसअघि बीवाईडीको ई ६ कारको पनि बिक्री वितरण गरिसकेको छ।