बिजुली तार भूमिगत गर्ने काम पुनः सुरु
2024-01-28 15:44:54cri
Share with:

गत असारदेखि ठप्प भएको बिजुली तार भूमिगत गर्ने काम सुरु भएको छ । झन्डै ६ महिना ठप्प बनेको काम नेपाल विद्युत् प्राधिकरणले सडक विभागसँग सम्झौता गरेसँगै सुरु भएको हो । प्राधिकरणले ०७६ फागुनबाट काठमाडौं उपत्यकालगायत क्षेत्रमा बिजुली तार भूमिगत गर्ने काम सुरु गरेको थियो । ०७९ साउनसम्म काम सक्ने लक्ष्य लिए पनि विभागले सडक खन्न अनुमति नदिँदा गत असारदेखि मंसिरसम्म ठप्प भएको प्राधिकरणले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ । 

नगरपालिकाअन्तर्गतका सडकमा भने विद्युत् तार भूमिगत गर्ने काम भइरहेको प्राधिकरणले बताएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म मध्य तथा उत्तर वितरण प्रणालीको भौतिक प्रगति ७४ र खर्च ७४.३५ प्रतिशत छ । काठमाडौं उपत्यका पूर्व तथा दक्षिणको भौतिक प्रगति ७०.४९ प्रतिशत छ । काठमाडौं उपत्यका पश्चिमको ७०.३३ प्रतिशत छ । काठमाडौं उपत्यका ललितपुर तथा भक्तपुरको भौतिक प्रगति २७.९८ प्रतिशत छ । भरतपुर–पोखराको भौतिक प्रगति ४३.६३ प्रतिशत छ ।

स्वीकृतिका लागि सडक विभागलाई विवरण पठाइसकिएकाले अब काम सुरु भइसकेको प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले जनाउनुभयो। ‘सडकले अनुमति नदिँदा झन्डै ६ महिना काम ठप्प भयो, नयाँ सम्झौता गरिसकेका छौं, सोहीअनुरूप सडक खन्न अनुमति मागिएको छ,’ उहाँले भन्नुभयो, ‘विभागले अनुमति दिएपछि फेरि काम सुरु हुन्छ ।’

पहिलो खनेको माटोले पुर्ने सम्झौता भए पनि अब खनेको ठाउँमा नयाँ माटो ल्याएर पुर्नुपर्ने नयाँ सम्झौता भएको प्रधानले जनाउनुभयो। पहिलो चरणमा महाराजगन्ज क्षेत्रको तार भूमिगत काम गर्ने सुरु भएको र त्यस क्षेत्रमा ७० प्रतिशत सकिएको प्रधानको भनाइ छ । ‘प्राधिकरणले महाराजगञ्जअन्तर्गतको ठेक्कालाई ६ महिना समय थपेको छ, उक्त समयभित्र सबै काम सक्नुपर्छ,’ उहाँले भन्नुभयो ।

सहरको सौन्दर्य बढाउन तथा हावाहुरीबाट बिजुलीको पोलमा हुने क्षति न्यूनीकरण गर्न तार भूमिगत गर्न सुरु गरेको हो । काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण परियोजनाको काम औपचारिक रूपमा ०७६ फागुनबाट सुरु भएको हो । पहिलो, दोस्रो र तेस्रो प्याकेज गरेर तीन चरणमा उपत्यकाभित्रका सबै तार भूमिगत गरेर विद्युत् पोल हटाउने प्राधिकरणको योजना छ । यो परियोजनाअन्तर्गत विद्युत् वितरण प्रणालीसँगै इन्टरनेट, टेलिफोन, केबल टेलिभिजन लाइन तथा अप्टिकल फाइबरलगायत संरचनालाई भूमिगत गर्ने काम प्राधिकरणले पाएको छ ।

भूमिगत वितरण प्रणाली निर्माणको काम तीन चरणमा ठेक्का लगाइएको छ । पहिलो चरणमा प्राधिकरणले काठमाडौंको रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरेको थियो । दोस्रो चरणमा काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको थियो । यसअन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर पनि बिछ्याइनेछ । यसबाट विद्युत्, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरुप बनेको सहरको कुरूपताको अन्त्य भई सौन्दर्य थपिनेछ ।

हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सकिने प्राधिकरणले जनाएको छ । भूमिगत काम गर्दा सडकमा न्युनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ । सडकमा सवारीसाधनको अवागमन र पैदल यात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धूलोबाट नागरिकलाई असर पर्न नदिन न्युनीकरणका उचित व्यवस्था गरिएको छ ।

तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० भित्र गरिसक्ने व्यवस्था गरिएको छ । विद्युत् वितरण प्रणालीसँगै इन्टरनेट, टेलिफोन, केबल टेलिभिजन लाइन तथा अप्टिकल फाइबरलगायत संरचनालाई भूमिगत गर्ने काम प्राधिकरणले पाएको छ । यी संरचनालाई अत्याधुनिक र प्रविधिमैत्री बनाएर विद्युत् पोल हटाउने प्राधिकरणको योजना हो ।

भक्तपुरको ५० प्रतिशत र ललितपुरको ५० प्रतिशत काम गर्नुपर्ने काठमाडौं उपत्यका ललितपुर तथ भक्तपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख योगेन्द्र ठाकुर बताउँछन् । भक्तपुरका प्रायः सडक पालिकाअन्तर्गत रहेकाले त्यसको मात्रै काम ५० प्रतिशत सकिएको आयोजना प्रमुख ठाकुरले जनाए । ‘ललितपुर र भक्तपुरअन्तगर्तको ५० प्रतिशतभन्दा बढी काम बाँकी छ,’ उनले भने, ‘विभागसँग अनुमति मागिएकाले अब ललितपुरमा पनि काम सुरु हुन्छ ।’