१ हजार ६६५ लाई प्रशिक्षण र रोजगारी दिन त्रिपक्षीय सम्झौता
2024-01-29 16:47:36cri
Share with:

१ हजार ६६५ जनालाई प्रशिक्षण र रोजगारी प्रदान गर्ने उद्देश्यसहित नेपाल सरकार, नेपाल उद्योग परिसंघ र उद्योगबीच त्रिपक्षीय सम्झौता भएको छ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको हो ।

 

आइतबार भएको सम्झौतामा केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिहरुले हस्ताक्षर गरेको अनलाइनखबरले जनाएको छ। एप्रेन्टिससीप कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगहरुमा लिटमस् इन्डष्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण सुज म्यानुफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डस्ट्रिज प्रालि र रन सुज इन्डस्ट्रिज प्रालि रहेका छन् ।

सम्झौताअनुसार यी उद्योगहरुले कुल १ हजार ६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरुलाई प्रशिक्षण दिए पश्चात कम्तीमा १८ महिनाको रोजगारी प्रदान गर्ने छन्।

 

प्रशिक्षार्थी कामदारहरुको अधिकतम तीन महिनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले व्यहोर्ने भएको छ । सम्झौता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितिमा भएको हो ।

कार्यक्रममा मन्त्री रिजालले यस कार्यक्रमबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसर सिर्जना हुने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले चालु आर्थिक वर्षका लागि ९ ओटा उद्योगहरुले २ हजार १०० जना प्रशिक्षार्थीका लागि परिसंघमार्फत आवेदन दिएको जानकारी दिनुभयो।