चीनसँग भएको पारवाहन सम्झौता आठ वर्षपछि कार्यान्वयनमा, पहिलो निर्यात चीन हुँदै जापान
2024-01-29 16:42:03cri
Share with:

नेपाल–चीन पारवाहन सम्झौता ८ वर्षपछि कार्यान्वयनमा आएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल चीन पारवहन यातायात सम्झौता कार्यान्वयनको पहिलो निर्यातको शुभारम्भ भएको हो। नेपालका लागि चिनियाँ राजदूत छन सोङ र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले संयुक्त रूपमा नेपालबाट चीन हुँदै तेस्रो मुलुक जापानमा पठाउन लागिएको सामानको रिवन काटेर उद्घाटन गर्दै सम्झौता कार्यान्वयनको शुरुवात गर्नुभयो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला २०७२ चैतमा चीनसँग भएको पारवाहन सम्झौता लामो समयपछि कार्यान्वयनमा आएको हो।

 

नेपाल भूपरिवेष्ठित मुलुक भएकाले भारतको कोलकत्ता बन्दरगाह प्रयोग गर्दै तेस्रो देशमा नेपाली वस्तुहरु निर्यात गर्ने गरिएको छ। अब चीन हुँदै तेस्रो मुलुकसँग सामान आयात निर्यात गर्न सामुन्द्रिक किनारसम्म पहुँच पाएको छ । नेपालको अहिलेसम्म भारतीय भूमि प्रयोग नगरी समुन्द्रसम्म पहुँच थिएन तर अब चीनसँगको पारवहन सम्झौता कार्यान्वयन आएसँगै नेपालले भारतको समुन्द्रिक पहुँच कुरिराख्नु पर्ने अवस्थाको अन्त्य भएको छ। तेस्रो मुलुकसँगको वैदेशिक व्यापारमा भारतीय परनिर्भरता कम गर्न उत्तरी छिमेकी चीनसँग पारवाहन सम्झौता तत्कालिन सरकारले गरेको थियो। चीन हुँदै नेपालले थप सामुन्द्रिक पहुँच हुँदा व्यापारिक क्षेत्रले नयाँ फड्को मार्ने अपेक्षा साकार हुने अवस्था आएको टक्सारन्यूज डटकमले जनाएको छ।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत चेन सोङले चीन सरकारसँग भएको पारवहन सम्झौता कार्यान्वयनसँगै तेस्रो मुलुकसँगको व्यापारको बाटो खुला भएको बताउनुभयो। उहाँले सम्झौता कार्यान्वयको लागि नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको निर्यात,आयात मन्त्रालयको गहन भूमिका रहेको बताउनुभयो।

राजदूत छन् सोङले नेपाल चीन व्यापार तथा विकास निर्माणको क्षेत्रमा सहकार्य गर्दै आएको चर्चा गर्दै नेपाल भूपरिवेष्ठित मुलुक भएकाले समुन्द्रिक पहुँच बिस्तारको लागि यातायात तथा पारवहन प्रोटोकलमा हस्ताक्षर भएको स्मरण गर्नुभयो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणपछि चीनले नेपालको आर्थिक र व्यापार विकासमा सहयोग गर्दै आएको उहाँको भनाइ छ।

 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले चीनसँगको पारवहन तथा यातायात प्रोटोकलमा हस्ताक्षर पछि कार्यान्वयमा आउनु नेपालको वैदेशिक व्यापारको लागि कोशेढुङ्गा भएको बताउनुभयो। उहाँले चीन हुँदै तेस्रो मुलुकमा पहिलो पटक निर्यात शुरुवात दीर्घकालीन रुपमा जाने विश्वास व्यक्त गर्दै चीन हुँदै तेस्रो मुलुकसम्म व्यापार पहुँच पुग्दा व्यापार घाटा मात्रै नभएर दिगो विकासको लक्ष्य हासिलमा समेत सहयोग पुग्ने बताउनुभयो।

 

नेपाल—चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले ८ वर्षअघि चीन सरकारसँग भएको पारवहन सम्झौता कार्यान्वयनमा आएकोमा खुसी व्यक्त गर्नुभयो।

तुलाधरले पारवहन सम्झौता कार्यान्वयन भएसँगै चीनको समुन्द्र हुँदै पहिलो पटक जापान निर्यात शुरु भएको चर्चा गर्दै चीन हुँदै तेस्रो मुलुकमा नेपाली सामान निर्यात गर्नको लागि ढुवानी सस्तो पर्ने बताउनुभयो। उहाँले विमानबाट नेपालबाट सामान लैजाँदा प्रति केजी २६५ रुपैयाँ पर्नेमा चीन हुँदै समुन्द्रबाट पठाउँदा व्यवसायीले ६० रुपैयाँ मात्रै ढुवानी पर्ने जानकारी दिनुभयो। भारतको कोलकत्ता बन्दरगाह हुँदै तेस्रो मुलुकमा पठाउने वस्तुहरुको ढुवानी चीन हुँदै पठाउँदा धेरै सस्तो पर्ने तुलाधरको भनाइ छ।

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले भारतको भारतको कोलकत्ता बन्दरगाह प्रयोग गर्दै तेस्रो देशमा नेपाली वस्तुहरु निर्यात गर्दै आएको अब चीनको बन्दरगाह प्रयोग गरेर वस्तु निर्यातको बाटो खुलेको बताउनुभयो।