आज नेपालमा शहीद दिवस मनाइँदै
2024-01-30 16:44:58cri
Share with:

आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ। काठमाडौंमा महानगरपालिकाको आयोजनामा बिहान प्रभातफेरी निकाली शहीदको स्मारकमा माल्यार्पण गरिएको छ। शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको हो। सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले शहीदलाई सम्झिंदै श्रद्धाञ्जली अर्पण गर्नुभयो।

 

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ ।

 

सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन। शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको छ ।

 

अनलाइनखबरका अनुसार वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो। यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो। नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।