अलैँचीको मूल्यवृद्धिसँगै किसान आकर्षित
2024-01-30 16:46:01cri
Share with:

खोलाको ‘कालो सुन’ भनेर चिनिने अलैँचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान अहिले अलैँची खेतीतर्फ लागेका छन् । अरुण गाउँपालिका–२, चम्पेका गुणराज राईले यस वर्ष सात मन प्रतिमन (४० केजी) ६० हजारका दरले कात्तिकमा बेच्नुभयो तर मूल्य बढेर अहिले प्रतिमन ८५ हजारका दरले अलैँची बिक्री हुँदा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ ।

 

गोरखापत्र अनलाइन विगत वर्षमा प्रतिमन २० हजारका दरले अलैँची बिक्री हुन्थ्यो तर अहिले अलैँचीको मूल्य दिनानुदिन बढ्दै गएको छ । उहाँले भन्नुभयो, “गाउँको ३० रोपनी जग्गामा २० मन अलैँची उत्पादन हुन्छ, अलैँचीका बिरुवा बेच्दा नै लगानी उठ्छ, बाँकी आफूलाई नाफा हुन्छ ।” स्थानीय अर्का कृषक लक्ष्मण राईले १५ रोपनीमा गत वर्ष छ मन अलैँची उत्पादन गरेकोमा अहिले साढे तीन मन अलैँची उत्पादन गर्नुभयो । “स्थानीय व्यापारीहरूले घरमै आएर राम्रो मूल्य दिनुहुन्छ, हामीले त धान फल्ने खेत मासेर पनि अलैँची लगाएका छौँ”, उहाँले भन्नुभयो, “धान, मकै र कोदोभन्दा अलैँचीबाट राम्रो आम्दानी हुन्छ । घरखर्चसँगै छोराछोरीको पढाइ, लुगाफाटो किन्ने खर्च अलैँची बेचेरै आम्दानी हुन्छ ।”

उत्पादन भएको अलैँची प्रतिकेजी दुई हजार पाँच सय रुपियाँसम्म बिक्री भएकाले आफूसँगै गाउँभरि नै व्यावसायिक अलैँची खेतीतर्फ स्थानीय लागिपरेको उहाँ बताउनुहुन्छ । पुराना भट्टीमा समय, दाउरा धेरै लाग्ने, कामदारको स्वास्थ्यमा समस्या, लगानी धेरै लाग्नेलगायत थुप्रै समस्या थिए तर अहिले अलैँची जोनले नयाँ आधुनिक भट्टी दिएसँगै ती समस्या पनि छैनन् र सुकाउन चाडो पनि हुन्छ । अलैँची खेतीलाई हिउँदमा आकाशको पानी चाहिन्छ भने सिँचाइको पनि व्यवस्था गर्नुपर्छ, सिँचाइ अभावसँगै बेला बेलामा लाग्ने छिर्के फुर्के, जरा तथा पाना कुहिने, ढुसी, डढुवा जस्ता रोगको प्रकोपले अलैँचीको उत्पादनमा ह्रास आउने गरेको छ ।

स्थानीय अलैँची व्यापारी शुक्रराज राईका अनुसार विगत दुई वर्षदेखि अलैँचीको मूल्य दिनानुदिन बढ्दै गएको छ । अहिले डम्बर साई प्रजातिको अलैँचीको मूल्य प्रतिमन ८५ हजार कृषकको घरमै दिने गरेका छौँ । यसको मुख्य कारण अलैँची उत्पादन कम भएर पनि हो । त्यससँगै अलैँची कृषकले अलैँची सुकाउन प्रयोग गर्ने आधुनिक भट्टीका कारण पनि हो । जसले अलैँचीको रङ परिवर्तन नहुने, धुवाँ गन्ध कम हुने, तौल नघट्ने, गुणस्तर राम्रो हुनेलगायतका कारणले मूल्यमा गिरावट आएको छैन ।

 

पछिल्लो समय अलैँचीको मूल्यवृद्धि हुँदा किसान उत्साहित छन् । यसको श्रेय अलैँची जोन कार्यालय भोजपुरलाई जान्छ । भोजपुर जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म अलैँची जोन कार्यक्रममा आबद्ध भई अलैँची खेती गर्दै आएको अलैँची जोन कार्यालयले जनाएको छ । विगतमा अलैँची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर कार्यक्रम सञ्चालन गर्दै आएको जोन कार्यालय भोजपुरले जनाएको छ । अहिले जिल्लाभरि ७२३ हेक्टरमा अलैँची खेती हुँदै आएको छ भने मुख्य गरी ६६५ हेक्टरमा उत्पादन हुँदै आएको छ ।

प्रतिहेक्टर ०.४२ मेट्रिक टनका दरले यस वर्ष २७९.३ मेट्रिक टन अलैँची उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभा जोन प्राविधिक एकाइ भोजपुरकी प्रमुख कौशीला विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरमा छ वटा स्थानीय तहका ३० वडामा अलैँची जोनको कार्यक्रम सञ्चालन रहेको छ । उक्त क्षेत्रका ५६ किसानलाई अहिलेसम्म अलैँची सुकाउने आधुनिक भट्टी प्रदान गरिएको छ । कृषकलाई सिँचाइ पूर्वाधार निर्माण कृषि यान्त्रिकीकरण, भकारो तथा गोठ सुधार कार्यक्रम, अलैँची, सुन्तला क्षेत्र विस्तार, सुन्तलाको पुरानो बगैँचा

 

प्रतिस्थापन कार्यक्रम, नर्सरी केन्द्र स्थापना, खाद्यान्न बालीको बीजवृद्धि कार्यक्रम, चक्लाबन्दी कार्यक्रम प्रशोधन तथा बजारीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।