पाँच वस्तुको निर्यात उच्च
2024-01-31 17:03:03cri
Share with:

मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला पाँच वस्तुको निर्यातमा भने वृद्धि भएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) मा मुलुकबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुहरूमा आइरन स्टिलका सामान, जुटका उत्पादन, जुस, अलैँची र प्लाइउड रहेका छन् ।

छ महिनामा स्वदेशी वस्तुको कुल निर्यात ७४ अर्ब ९६ करोड ८० लाख रुपियाँको निर्यात भएका बेला पाँच वटा वस्तुको निर्यात २३ अर्ब ७३ करोड १४ लाख रुपियाँ बराबरको भएको गोरखापत्र अनलाइनले लेखेको छ।

केन्द्रको तथ्याङ्क अनुसार छ महिनामा मुलुकबाट सबैभन्दा धेरै आइरन तथा स्टिलका उत्पादन निर्यात ८३ प्रतिशतले बढेर आठ अर्ब ९८ करोड ९१ लाख रुपियाँ भएको छ। गत वर्ष सो अवधिमा चार अर्ब ७३ करोड ९४ लाख रुपियाँको आइरन तथा स्टिलका सामान निर्यात भएको थियो ।

विदेशबाट ठुलो रकमको काठ आयात भइरहेको बेला प्लाइउड निर्यात १०२ प्रतिशतले बढेर तीन अर्ब ५३ करोड ३२ लाख रुपियाँको भएको छ ।

यस्तै छ महिनामा तीन अर्ब ९५ करोड  रुपियाँको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ८६ करोड २८ लाख रुपियाँको सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो । सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट–क्लिङ्कर निर्यात बढ्न थालेको हो । यस्तै जुस निर्यात ४५ प्रतिशतले बढेर तीन अर्ब ८० करोड ५७ लाख रुपियाँको निर्यात भएको केन्द्रको तथ्याङ्क छ।

गत वर्ष सो अवधिमा दुई अर्ब ६२ करोड ३८ लाख रुपियाँको जुस निर्यात भएको थियो। तीन अर्ब ९० करोड ७६ लाख रुपियाँको अलैँची निर्यात भएको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ७४ करोड रुपियाँको अलैँची निर्यात भएको थियो। सरकारले स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेकाले सिमेन्ट क्लिङ्कर प्लाइउडको निर्यातमा वृद्धि भएको हो।