काठमाडौंको साढे २७ किमी लामो रिङरोडमध्ये कलंकी–कोटेश्वर खण्ड छिट्टै बन्ने प्रतीक्षा
2024-02-01 17:28:46cri
Share with:

काठमाडौं उपत्यकाको साढे २७ किलोमिटर लामो रिङरोडमध्ये कलंकी–कोटेश्वर खण्ड (साढे १० किलोमिटर) सडक फराकिलो बनेको पाँच वर्ष बितिसकेको छ। चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेको रिङरोडको दोस्रो खण्ड भने अहिले अलपत्र अवस्थामा छ। चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकी स्युचाटारदेखि बसुन्धरा कल्भर्टसम्मको सडक निर्माण गर्ने भनिएको थियो। चीनको सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रपले २०७० देखि रिङरोड विस्तारको काम अघि बढाएको थियो ।

 

खासगरी सरकारले यो खण्डमा पर्ने सडकको साइट क्लियर गर्न नसक्दा निर्माणको काम सुरु हुन नसकेको हो । २०७६ फागुनमा सरकारले साइट क्लियर गरेर निर्माण कम्पनीलाई सडक विस्तारको जिम्मा दिने योजना बनाइएको थियो। तर, यसबीच आन्तरिक प्राविधिक तथा कोभिडका कारण सडक निर्माणमा ढिलाइ हुँदै आएको कारोबार अनलाइनले लेखेको छ।

कलंकीदेखि महाराजगञ्जसम्मको सडक चीनले पूर्व सम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । सडक निर्माणका लागि कम्पनीले प्रारम्भिक अध्ययन तयार गरेको छ । कम्पनीले सुरुमा काम थाल्न सरकारलाई सडक सीमा क्षेत्र खाली गराउन पटक–पटक अनुरोध गरेको थियो। सरकारले साइट क्लियर गरेको अहिले एक वर्ष भएको छ।

२०७९ फागुनमा यो सडक खण्ड निरीक्षणमा गएका बेला नेपालका लागि चिनियाँ राजदूत छङ सोङले ६ महिनाभित्रमा आयोजना विस्तारका लागि जनशक्ति परिचालन हुने बताउनुभएको थियो।

चक्रपथ विस्तार गर्न आर्थिक तथा प्राविधिक सहयोगका लागि २३ डिसेम्बर २०१० मा नेपाल र चीनबीच हस्ताक्षर भएको थियो । त्यसपछि चीनले सांघाई निर्माण समूहलाई यसको जिम्मेवारी दिएको थियो।