निर्यात व्यापारलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको अर्थमन्त्री महतको ठहर
2024-02-01 17:27:48cri
Share with:

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ। निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

 

अर्थमन्त्री डा. महतले महासङ्घको भूमिकाको प्रशंसा गर्नुहुँदै भन्नुभयो, ‘‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्त्वपूर्ण योगदान रहँदै आएको छ।’’

मन्त्री महतले निर्यात व्यवसायी महासङ्घ नेपालले उठान गरेका सवालहरु सबै जायज माग रहेको उल्लेख गर्नुहुँदै सरकारले चाहँदा चाहँदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसिएको र निकट भविष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गोरखापत्र अनलाइनका अनुसार उहाँले भारतसँगको व्यापार सम्झौताबाट फाईदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको प्रष्ट पार्नुभयो । उहाँले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउनुहुँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने उल्लेख गर्नुभयो। डा. महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्तभन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिनुभयो। उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित वार्षिकोत्सवको अवसरमा महासङ्घले उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरेको छ ।