नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान
2024-02-03 16:42:46cri
Share with:

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठानले शुक्रबार सूचना सार्वजनिक गरेर परियोजनाले प्रस्ताव पेस गर्न आह्वान गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने कार्यविधि हालै स्वीकृत गरेसँग कर्जा लिनका लागि परियोजना प्रस्ताव आह्वान गरिएको हो ।

 

स्टार्टअप उद्यमका मापदण्डहरू पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यमीले यस्तो कर्जा लिन सक्ने सूचनामा उल्लेख गरिएको छ। यस्तो कर्जा लिन चाहनेले सूचना प्रकाशित भएको २१ दिनभित्र तोकिएको ढाँचामा प्रस्ताव पेस गर्नुपर्ने प्रतिष्ठानले आह्वान गरेको छ।

 

मन्त्रालयले चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाका लागि २५ करोड रुपियाँ विनियोजन गरेको छ । ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप कर्जा उपलब्ध गराइने व्यवस्था छ ।

 

स्टार्टअप उद्यम कर्जा कार्यविधि अनुसार स्टार्टअप उद्यमका रूपमा १६ क्षेत्र तोकिएका छन् । ती क्षेत्रमा स्टार्टअप कर्जा लिन सकिने छ । कृषि तथा पशुपन्छी, वन पैदावर, पर्यटन प्रवर्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित क्षेत्रमा स्टार्टअप गर्न सकिने छ । सहज र सुरक्षित यातायात तथा परिवहन, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाह, खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित क्षेत्रमा समेत स्टार्टअपलाई मान्यता दिइने भएको छ।