नेपालद्वारा पशुपन्छी विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी
2024-02-03 16:40:46cri
Share with:

नेपालका पशुजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजारमा पहुँच वृद्धिका लागि सरकारले नीति निर्माणमा विभिन्न दातृ निकायसँग सहकार्य र सम्झौता गर्दै आएको छ । केही दिनअघि मात्र पशुपन्छी अनुसन्धान, विकास, नवीन प्रविधि प्रवर्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको थियो। यसअघि दुधमा आत्मनिर्भरका लागि हेफर इन्टरनेसनले नेपाललाई कोरेली गाई तथा बाछा उपलब्ध गराइसकेको छ । हेफर इन्टरनेसनमार्फत दिएको कोरेली गाई सिन्धुलीका किसानलाई वितरण गरिसकिएको छ । यसअघि नेपालले अमेरिकाबाट पनि नस्ल सुधारका लागि साँढे ल्याइसकेको छ ।

 

गोरखापत्र अनलाइनका अनुसार हालै मात्र भारतबाट १५ वटा मुर्रा जातको भैँसी नेपाल ल्याइसकेको छ। यी सबै पशुपन्छी अनुसन्धान, विकास, नवीन प्रविधि प्रवर्धन र यस क्षेत्रको दिगो विकासका सम्झौता भएको र कतिपय कार्यान्वयनमा पनि आइसकेको कृषि मन्त्रालयका (पशुपन्छीतर्फ) सचिव डा. रेवतीरमण पौडेलले बताउनुभयो।

 

देशलाई दुध, मासु, माछामा आत्मनिर्भर बनाउनका लागि यस खालका थुप्रै प्रयास भइरहेको बताउँदै उहाँले संयुक्त राज्य अमेरिकाको कृषि विभाग (युएसडिए) सँग मत्स्य अनुसन्धानका विविध विषयमा सहकार्य गर्ने भनी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सम्झौता गरेको बताउनुभयो ।

 

कात्तिकको दोस्रो हप्ता दक्षिण कोरियाका कृषि, खाद्य तथा ग्रामीण सुरक्षामन्त्री चुङ्ग हवानकेले नेपालको भ्रमण गरी कृषि तथा पशुपन्छी क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

दक्षिण कोरियाले दिएको गाईको अवस्थाका बारेमा पनि जानकारी उहाँले लिनुभएको थियो । मङ्सिरको तेस्रो हप्ता चीनको सिचुवान एकेडेमी अफ साइन्सेसका प्रतिनिधिहरू नेपाल आएर कृषि मन्त्रालयका अधिकारीसँग छलफल गरी पशुपन्छी तथा कृषिका अन्य क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाई फर्केका छन् ।

 

पशुमा लाग्ने लम्पी स्किनविरुद्धको खोप उत्पादनका लागि सहयोग गर्न कृषि मन्त्रालयले अफ्रिकी मुलुक केन्यालाई आग्रह गरेको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताउनुभयो । त्यसका लागि पुस पहिलो हप्ता केन्याका इन्टरनेसनल ल्याइभस्टक रिसर्च इन्स्टिच्युट (आइएलआरआइ) का तीन जना वैज्ञानिक नेपालमा आएर अध्ययन गरेर फर्किसकेका छन् ।

 

कृषि मन्त्रालय र आइएलआरआई बिच भएको सम्झौतामा विश्वव्यापी रूपमा पशुपन्छीको उत्पादन प्रवर्धनलगायत पशुपन्छीको क्षेत्रमा अनुसन्धान गरिने उल्लेख छ।

 

सम्झौतापछि नेपालमा पशुपालनमार्फत गुणस्तरीय जीविकोपार्जनमा योगदान पुर्‍याउने विश्वास कृषि मन्त्रालयले लिएको छ । अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानका सहायक महानिर्देशक डा. सर्ले तारावालीले उचित पोषण, बाल कुपोषण न्यूनीकरण गर्न, संज्ञानात्मक  विकासमा सुधार, खाद्य उत्पादन र स्वास्थ्यका लागि साना किसानको पशुपालन प्रणालीलाई रूपान्तरण गर्न यो सम्झौता महत्वपूर्ण हुने बताउनुभयो ।

 

विश्वमा कुनै पनि चुनौतीका समाधानका लागि सम्बन्धित सरोकारवालालगायत अन्तर्राष्ट्रिय संस्थाको साझेदारी अपरिहार्य रहेको बताउँदै सचिव पौडेलले अन्तर्राष्ट्रिय साझेदारीले विकासमा टेवा पुगेको बताउनुभयो।