तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङ प्रवेशद्वारमा पर्यटक लक्षित सूचना बोर्ड
2024-02-04 17:36:21cri
Share with:

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङ जाने प्रवेशद्वारनजिक आइतबार पर्यटक लक्षित सूचना बोर्ड राखिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र तथा निषेधित तथा नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ जाने पहुँचमार्ग सडकमा आन्तरिक तथा बाह्य पर्यटकले पालना गर्नुपर्ने नियम उल्लेख गरिएको सूचना बोर्ड राखिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त आयोजनामा बारागुङ मुक्तिक्षेत्र—३ छुसाङस्थित इलाका प्रहरी कार्यालय छुसाङमा पर्यटक सूचना बोर्ड राखिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो। उपल्लो मुस्ताङको लोमान्थाङलगायतका निषेधित तथा नियन्त्रित क्षेत्र तथा उपल्लो मुस्ताङको संरक्षण क्षेत्रमा भ्रमणमा जाने पर्यटकलाई लक्षित गरी पर्यटक सूचना बोर्ड स्थापना गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो।

उपल्लो मुस्ताङ जाने पर्यटकले नेपाल सरकार अध्यागमन विभागबाट १० दिनका लागि पाँच सय डलर रोयल्टी तिरेपछि मात्र प्रवेश अनुमति पाउने नियम छ। अवैध रूपमा उपल्लो मुस्ताङ जाने विदेश पर्यटकलाई प्रहरीबाट पक्राउ गरिन्छ।

अन्नपूर्णपोस्ट अनलाइनका अनुसार यसअघि म्याग्दी र मुस्ताङको प्रवेशद्वार घाँसामा पर्यटक सूचना बोर्ड स्थापना गरिएको थियो। अन्नपूर्ण संरक्षणअन्तर्गत मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई आवश्यक सूचना दिएर यात्रालाई सहज बनाउन सूचना बोर्ड राखिएको हो। संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकले प्रवेश शुल्क नतिरी आउँदा दोब्बर जरिबाना तिर्नुपर्ने अवस्था रहेकाले सोको जानकारी दिन सूचना बोर्ड प्रभावकारी हुने विश्वास गरिएको छ। संरक्षित क्षेत्रको भ्रमण गर्दा प्रवेश अनुमतिपत्र हुनुपर्ने, संरक्षित क्षेत्र तथा निषेधित तथा नियन्त्रित क्षेत्रमा हेलिकप्टर उडान/अवतरण, फिल्म तथा डकुमेन्ट्री खिच्न, ड्रोन उडाएर फोटो भिडियो खिच्न अनिवार्य पूर्वअनुमति लिनुपर्ने उल्लेख छ।