नोबेल पुरस्कारका ९ विजेता लुम्बिनी आउँदै
2024-02-04 17:37:33cri
Share with:

लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा हुन लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ मा ९ जना नोबेल पुरस्कार विजेताहरूको सहभागिता हुने भएको छ । फागुन २७ देखि २९ सम्म सञ्चालन हुने यस सम्मेलनमा विभिन्न देशका २ सयभन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको बताइएको छ । अमेरिकामा सचिवालय रहेको लिडर्सको स्टेरिङ कमिटीमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित ७ जना रहेका छन् । सत्यार्थीले सम्मेलनको अन्तर्राष्ट्रिय रूपमा संयोजन पनि गरिरहेका छन् ।

 

सम्मेलनमा सहभागीमध्ये नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे रामोस ओर्टा (१९९६), जोडी विलियम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्म्यान छन् । त्यस्तै सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेशनल डायलग क्वार्टेटका संस्थापकमध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्ट्स (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सल (२०१३) पनि लुम्बिनी आउँदै छन् । त्यसैगरी, शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङलगायतको पनि सहभागिता रहने निश्चित भएको लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका सचिव एवं सम्मेलनका संयोजक सुमन घिमिरेले बताउनुभयो।  विश्वभर लुम्बिनी क्षेत्रको महत्त्व दर्शाउने र पर्यटन प्रवर्द्धन एवं विकास साझेदार भित्र्याउने पनि सम्मेलनको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बाल बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारले सम्मेलन गर्न लागेको हो । सरकारले लुम्बिनीमा शिखर सम्मेलन गरेर विश्वभरका बालबालिकालाई प्राथमिकता र संरक्षणका लागि गौतम बुद्धका संकल्पको विश्वव्यापीकरण गर्ने र आवश्यक नीति र हस्तक्षेप गर्ने उद्देश्य राखेको सम्मेलन संयोजक घिमिरेले बताए । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अगुवाइमा हुन लागेको सम्मेलनको अन्तिम तयारी चलिरहेको छ ।

 

मुख्यमन्त्री चौधरीले नोबेल पुरस्कार विजेता र विश्वका केही राजनेताको अगुवाइमा बालबालिकाको समग्र विकास प्रक्रियामा देखिएका चुनौतीलाई एकीकृत र साझा दृष्टिकोणसहित सम्बोधन गर्ने गरी लुम्बिनीमा सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो।

सम्मेलनका लागि संघीय सरकार, परराष्ट्र मन्त्रालय, लुम्बिनी विकास कोष, पर्यटन व्यवसायी र प्रदेश सरकार मातहतका विभिन्न कार्यालय र निकायसँग विभिन्न चरणमा छलफल र तयारी बैठकहरू भइरहेको लुम्बिनी पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताउनुभयो।

 

सम्मेलनका लागि परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा लुम्बिनीका मुख्यमन्त्री चौधरीसहितको १३ सदस्यीय उच्चस्तरीय समिति पनि गठन गरिएको छ । निर्देशक जोशीले भन्नुभयो, ‘अहिलेसम्म २ सय जना अन्तर्राष्ट्रिय र १ सय बढी राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहने निश्चित भएको छ ।’ विकासोन्मुख ठूला राष्ट्रका प्रमुखहरू, नोबेल पुरस्कार विजेताहरू, राजकुमारहरूसहित २ सय व्यक्तिको उपस्थितिले लुम्बिनीलाई विश्व पर्यटन क्षेत्रको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सम्मेलनले महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो।