आज विश्व अर्बुद रोग दिवस मनाइँदै
2024-02-04 17:40:46cri
Share with:

आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

 

अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ ।

 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ । डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

 

यस्तै सबैभन्दा धेरै फोक्सोको अर्बुद रोग देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् । नेपालमा अर्बुद रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि डब्लुएचओका अनुसार नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने अर्बुदका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ । यस्तै पुरुषमा फोक्सो, पेट र कलेजोमा अर्बुदको रोग बढी हुने गर्छ।

अनलाइनखबरका अनुसार विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी-डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार विश्वभर २० मिलियन (२ करोड) नयाँ क्यान्सरका बिरामी पत्ता लागेका छन् भने ९.७ मिलियन मानिसहरुको मृत्यु क्यान्सरबाट भएको पाइएको छ ।

 

विश्व स्वास्थ्य संगठन, फ्रान्समा कार्यरत नेपाली वैज्ञानिक डा. दिपेन्द्र सिंहका अनुसार क्यान्सर निदान भएका व्यक्तिहरुको संख्या विश्वमा विगत ५ वर्षभित्र करिब ५३.५ मिलियन थियो । क्यान्सर लागेकामध्ये हरेक ९ जनामा १ जना पुरुष र १२ जनामा १ जना महिलाको मृत्यु भएको पाइएको छ ।

 

नेपालमा भने सन् २०२२ मा अनुमानित २१ हजार ७६६ क्यान्सरका विरामी रहेका तथा १४ हजार ६०० जना क्यान्सरले गर्दा मृत्यु भएको पाइएको डा. सिंहले बताउनुभयो। उहाँका अनुसार हरेक १ लाख नेपालीमध्ये ८१ जनामा क्यान्सर निदान भएको र क्यान्सर निदान भएकामध्ये ५५ जनाको मृत्यु भएको पाइएको छ ।

 

नेपालमा हाल रहेका करिब २२ हजार क्यान्सर रोगीहरुको संख्या सन् २०५० सम्ममा ९१ प्रतिशतले बढ्ने अनुमान समेत गरिएको छ । ‘सन् २०५० सम्ममा नेपालमा क्यान्सर रोगीहरु ९१ प्रतिशतले वृद्धि हुँदै करिब ४२ हजार हुनेछन्,’ डा. सिंह भन्छन्, ‘रिपोर्ट अनुसार क्यान्सर निदान भएकामध्ये ९९ प्रतिशतमा क्यान्सरको मृत्युदर बढ्ने अनुमान गरिएको छ । मृत्युदर पुरुषमा १०८ प्रतिशत र महिला ९० प्रतिशत हुनेछ ।’