नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्दो,सबैभन्दा धेरै चिनियाँ
2024-02-06 15:58:55cri
Share with:

रोजगारीका लागि नेपाल आउने आप्रवासी श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ। गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालु आवको २०८०/८१ सो अवधिमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको सङ्ख्या बढेको गोरखापत्र अनलाइनले लेखेको छ। 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन्। गत वर्षको साउनदेखि पुस महिनासम्म श्रम स्वीकृति लिनेको सङ्ख्या ९१८ थियो। विभागका अनुसार जसमा नयाँ श्रम स्वीकृति लिने ४६७ जना रहेका छन् भने श्रम नवीकरण गर्ने ६६३ जना रहेका छन्। नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ। विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि करिब ८० देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन्। 

चालु आवको पहिलो छ महिनामा श्रम स्वीकृति लिएका विदेशी श्रमिकमध्ये ७७२ जना चिनियाँ रहेका छन्। अन्य बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, अस्टे«लिया, भारत, श्रीलङ्का, बङ्गलादेश जर्मनीलगायतका देशका रहेका छन्। 

विभागका निर्देशक मणिनाथ गोपले नेपालमा सञ्चालन भइरहेका चीनका ठुला परियोजनामा आवश्यक साना ठुला प्राविधिक चिनियाँ नै ल्याइने गरेकाले अन्य देशको तुलनामा चिनियाँ नै धेरै भएको बताउनुभयो। उहाँका अनुसार अन्य देशबाट ठुला प्रोजेक्टमा माथिल्ला पदमा मात्रै आफ्ना देशका नागरिक ल्याउने गरेको तर चीनले भने अधिकांश प्राविधिक आफ्नै देशबाट ल्याउने गरेको छ। 

श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ। विदेशीले काम गर्ने कतिपय परियोजनाले नेपाली श्रमिक कटौती गरी विदेशी श्रमिक यथावत् राख्ने गरेको पाइए पनि त्यसको अनुगमन हुन सकेको छैन। 

नेपाली श्रमिकलाई प्राथमिकता दिई यहाँ उपलब्ध हुन नसकेका दक्ष र सिपयुक्त विदेशी जनशक्तिलाई मात्रै श्रम स्वीकृति दिनुपर्ने विज्ञहरूको सुझाव छ। नेपालमा काम गर्ने विदेशीको श्रम स्वीकृति अधिकतम छ वर्षसम्म नवीकरण हुने व्यवस्था छ। यसै गरी एकै प्रकृतिको कामका लागि श्रमस्वीकृति लिने श्रमिकको सिप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम पनि छ। नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न धेरै विदेशीले विभागबाट श्रम स्वीकृति लिने गरेका छन्।