वाङ यी र नर्वेका विदेशमन्त्री आइडबीच भेटवार्ता
2024-02-06 14:40:05CRI
Share with:

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले नर्वेका विदेशमन्त्री एस्पेन बार्थ आइडसँग फेब्रुअरी ५ तारिख बेइजिङमा भेटवार्ता गर्नुभएको छ।

नर्वेका विदेशमन्त्री आइड सन् २०२४ मा चीन भ्रमण गर्ने पहिलो युरोपेली विदेशमन्त्री हुनुहुन्छ। यसले नर्वेले चीनलाई ठूलो महत्व दिएको र दुई देशबीचको सम्बन्धमा विकासको प्रवृत्ति कायम राखेको प्रतिविम्वित भएको परराष्ट्र मन्त्री वाङ यीले जनाउनुभएको छ। चीनको विकासप्रति नर्वे सरकारको वस्तुनिष्ठ, तार्किक र मैत्रीपूर्ण दृष्टिकोण, एक चीन सिद्धान्तको पालना र चीनसँगको मित्रताको चीनले सराहना गरेको बताइएको छ।

आपसी दौत्य सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ कार्यक्रमको आयोजना गर्नु,  दुई देशबीच उच्चस्तरीय आदानप्रदानलाई सुदृढ तुल्याउने, विभिन्न क्षेत्रमा भएका व्यावहारिक सहयोगलाई प्रगाढ बनाउने, जनस्तरको आदानप्रदानलाई सहज पार्ने, बहुपक्षीयता र स्वतन्त्र व्यापारको संयुक्त रूपमा वकालत गर्ने, जलवायु परिवर्तनको सामना गर्ने तथा जैविक विविधताको संरक्षण जस्ता साझा चुनौतीहरूमा हुने समन्वयलाई मजबुत बनाउने लगायतका क्षेत्रमा चीन र नर्वे दुवै पक्ष सहमत भएका छन्।

मध्यपूर्वको पछिल्लो अवस्थाका बारेमा दुवै पक्षले गहन वैचारिक आदानप्रदान गरी मध्यपूर्वमा बढ्दै आएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै आपसी सम्पर्कलाई निरन्तरता दिन सहमत भएका छन्।