बाह्रबिसे सबस्टेसन निर्माणमा तीव्रता
2024-02-06 16:04:17cri
Share with:

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ। दुई महिनाभित्र सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरू भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। 

ग्यास इन्सुलेटेड (जिआइएस) प्रविधिमा आधारित सो सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् भने २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, पाँच एमभिएका पावर ट्रान्सफर्मरहरू पनि राखिसकिएको र नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ। यसका लागि आयोजनाले आफ्नो विद्युत्गृहको स्विचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरू तयार भइसकेका छन् भने करिब दुई किलोमिटर तार पनि तानिएको छ। 

आयोजनाले बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण दुई किलोमिटर तार तान्न सकिरहेको छैन। प्राधिकरणले मध्य भोटेकोशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ। 

हाल मध्य भोटेकोशी जलविद्युत् आयोजनाका संरचनाहरूको परीक्षण जारी छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोली शनिबार सबस्टेसन निर्माणस्थल अनुगमनमा गएको थियो। 

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो। साथै टोलीले मध्य भोटेकोशी जलविद्युत् आयोजनाको पनि भ्रमण गरी हाल भइरहेका परीक्षणका कार्यहरूको जानकारी लिएको थियो। 

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ। कार्यकारी निर्देशक घिसिङले जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो।  

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोभिड–१९ महामारीलगायतका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ। 

तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो। एसियाली विकास बैङ्कको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ।  

तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४२ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ। प्रसारण लाइनमा पर्ने ११८ वटा टावरमध्ये आठ वटाको मात्र निर्माण बाँकी छ। त्यसमध्ये सात वटा टावर सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नुपर्ने छ।