भैरहवाबाट १४३ करोडको सिमेन्ट र क्लिंकर निकासी
2024-02-06 16:00:47cri
Share with:

भैरहवाको बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४३ करोडको सिमेन्ट तथा क्लिंकर भारत निकासी भएको छ। भैरहवा भन्सार कार्यालयका अनुसार यो अवधिमा ७५ करोड २२ लाख रुपैयाँको १ लाख ३३ हजार टन सिमेन्ट तथा ६८ करोड ४३ लाखको १ लाख २० हजार टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको कारोबार अनलाइनले लेखेको छ।

केही वर्ष अघिसम्म सिमेन्ट तथा क्लिंकरका लागि भारतकै भर पर्नुपर्ने अवस्था रहेकोमा आयात प्रतिस्थापन गर्दै अघिल्लो वर्षदेखि निकासी हुन थालेको हो। भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार गत आर्थिक वर्षको तुलनामा सिमेन्ट तथा क्लिंकर निकासी बढी भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ३१ करोड ८६ लाखको सिमेन्ट निकासी भएकोमा चालु वर्षको ६ महिनामै दोब्बर निकासी भएको छ। ‘क्लिंकर निकासी पनि बढेको छ। सरकारले बजेटमार्फत विभिन्न वस्तु तोकिएको परिमाणभन्दा बढी निकासी गरे ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेको छ। सोहीअनुसार उद्योगहरुले भारततर्फ निकासी बढाइरहेका छन्,’ भन्सार प्रमुख गौतमले भन्नुभयो। क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानीसहित ८ वस्तु तथा सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस आउटसोर्सिङ निकासीमा उच्च सम्भावना रहेका वस्तु तथा सेवा तोकिएको परिमाणमा निकासी गरे ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था सरकारले गरेको छ।

बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारत निकासी हुँदै आएको छ। सिमेन्टको आन्तरिक खपत कम हुँदा भारत निकासी गरेर उद्योगहरुले केही राहत पाएका छन्। आन्तरिक खपत अहिले २० देखि ३० प्रतिशतमा सीमित भएको व्यवसायीको भनाइ छ।

बेलहिया नाका हुँदै सिमेन्टसहित अन्य वस्तुको निकासी पनि बढेको छ। गत वर्षको ६ महिना (साउनदेखि पुस) को तुलनामा चालु वर्षको ६ महिनामा निकासी ५४ प्रतिशतले वृद्धि भएको छ। प्रमुख भन्सार अधिकृत गौतमले भन्नुभयो, ‘निकासी बढ्नुमा र सिमेन्ट क्लिंकरको ठूलो योगदान छ।’ चालु वर्षको ६ महिनामा ६ अर्ब ९२ करोडको वस्तु भारत तथा तेस्रो मुलुक निकासी भएको छ। गत वर्षको ६ महिनामा यो रकम ४ अर्ब ४८ करोड थियो।

बेलहिया नाका हुँदै सबैभन्दा बढी निकासी हुने वस्तुमा सेन्थेटिक यार्न रहेको छ। यार्न भारत तथा टर्की निकासी हुने गरेको छ। चालु वर्षको ६ महिनामा १ अर्ब ५० करोडको ७ हजार ४ सय ७ टन सेन्थेटिक यार्न यो नाकाबाट निकासी भएको छ। बेलहिया नाकाबाट चालु आर्थिक वर्षमा भारततर्फ प्लाइउड निकासी सुरु भएको छ। २० करोड ३१ लाख रुपैयाँको प्लाइउड निकासी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। अन्य वस्तुजस्तो यसको निकासी सहज भने हुन सकेको छैन।

विगतका वर्षमा भन्दा चालु आर्थिक वर्षमा यो नाका हुँदै विभिन्न वनस्पति उत्पादन, पीना, अदुवा, सुठोलगायत जडिबुटीको निकासी पनि बढ्दै गएको छ। भन्सार कार्यालयका अनुसार गत साउनदेखि पुस मसान्तसम्म वनस्पति उत्पादन ३८ करोड ४६ लाखको निकासी भएको छ। यसैगरी पीना ३३ करोड ८ लाखको, सुठो २४ करोड ५३ लाखको निकासी भएको छ।

यो नाका हुँदै तयारी चाउचाउ, पास्ता तथा चोकर भुससमेत निकासी भइरहेको छ। ६ महिनामा चाउचाउ र पास्ता २३ करोड ३२ लाखको निकासी हुँदा चोकर १७ लाख ८४ हजारको निकासी भएको छ। बेलहिया नाकाबाट रोजिन टर्पेन्टाइन, पिभिसी फिटिङ पाइप पनि भारत निकासी हुँदै आएको छ। यी वस्तु चालु वर्षको ६ महिनामा ३४ करोड ६१ लाखको निकासी भएको छ।