गत जनवरी महिनामा लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या दोब्बरले वृद्धि
2024-02-06 15:59:54cri
Share with:

लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढेको छ। २०२३ को जनवरीको तुलनामा यो वर्षको जनवरीमा लुम्बिनी भ्रमणमा आउने पर्यटकको संख्या दोब्बरले वृद्धी भएको लुम्बिनी विकास कोष सूचना शाखाले जनाएको कारोबार अनलाइनले लेखेको छ।

शाखाका कर्मचारी दिलीप कुलुंगका अनुसार गत वर्षको जनवरीमा ३ हजार ९८७ विदेशी पर्यटक लुम्बिनी आएकामा यस वर्षको पहिलो महिना जनवरीमै ९ हजार ६१० पर्यटक आएका छन्। पर्यटक आगमन वृद्धी दोब्बरभन्दा बढी भएको उहाँले बताउनुभयो। कुलुंगका अनुसार जनवरीमा सबैभन्दा बढी थाइल्याण्डका पर्यटक ४ हजार ६ जना आएका छन्। जनवरीमा थाईहरू बैंककबाट प्लेन चार्टड गरेर समेत आएका थिए।

त्यसैगरी सोहि महिनामा दक्षिण कोरीयाका १ हजार ३६६, म्यानमारका १ हजार ४५, चीनका ८ सय, भुटानका ४८७ , भियतनामका २५०, श्रीलंकाका २४० पर्यटक आएका छन्। जनवरीमै भारतीय पर्यटकहरू १९ हजार ३६ जनाले लुम्बिनी भ्रमण गरेका छन्। गत वर्षको जनवरीमा १८ हजार ११५ जना भारतीय पर्यटक लुम्बिनी पुगेका थिए। त्यसैगरी आन्तरिक पर्यटकहरू ५५ हजार ९५३ जना लुम्बिनी भ्रमणमा पुगेका छन्।

आन्तरिक पर्यटक गत वर्षको जनवरीको तुलनामा केही घटेका छन्। गत वर्षको जनवरीमा ६२ हजार ५५३ नेपाली लुम्बिनी भ्रमणमा पुगेको थिए। लुम्बिनीको प्रचारप्रसार, विभिन्न आध्यात्मिक गतिविधिलगायतका कारणले पर्यटकहरू गत वर्षभन्दा वृद्धी भएको लुम्बिनी बिकास कोषका सूचना अधिकृत हरीध्वज राईले बताउनुभयो। लुम्बिनी भ्रमणमा आउने पर्यटक विस्तारै बढदै छन्।

यो वर्षको पहिलो महिनामा गत वर्षको तुलनामा विदेशी पर्यटक दोब्बर आउनु भनेको राम्रो संकेत भएको राईले बताउनुभयो। लुम्बिनी भ्रमणमा आउने बिदेसी पर्यटकहरू अधिकांस स्थलमार्गको बेलहिया नाका हुदै नेपाल आउने गर्छन्। विदेशी भारतीय तथा नेपालीहरूको लागि लुम्बिनीमा आकर्षणका रुपमा मुख्य गरी बुद्धजन्मस्थल मायादेबी मन्दिर, अशोक स्तम्भ, पबित्र पुष्करणी कुण्ड, विश्व शान्तिद्धिप, त्यहाँका विभिन्न स्वदेशी एवं विदेशी बिहार एवं नहर रहेका छन्।

पर्यटक आगमन बढनु सकारात्मक रहेको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताउनुभयो। तर पर्यटक बढे पनि पर्यटन व्यवसाय फस्टाउन सकेको छैन। लुम्बिनीमा बढीभन्दा बढी समय व्यतीत गर्ने आध्यात्मिक गतिविधिलगायतका कामहरू बढीभन्दा बढी भए पर्यटकको बसाई अवधि बढ्न सक्ने ज्ञवाली बताउनुहुन्छ।