१०२ मेगावाटको मध्य भोटेकोशीको सुरुङमा पानी पठाइयो
2024-02-07 16:14:17cri
Share with:

परीक्षणको चरणमा पुगेको सिन्धुपाल्चोकको १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको ७ किलोमिटर सुरुङमा मंगलबारदेखि पानी पठाइएको छ। आयोजनाको बाँध, सुरुङ र पावर हाउसको काम सकिएपछि उत्पादनको तयारीका क्रममा आयोजनाको सबै संरचनामा ‘वेट टेस्टिङ’ सुरु गरेको झन्डै महिना दिन बितेको कान्तिपुर अनलाइनले लेखेको छ।

मध्य भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीका अनुसार अब दुई–तीन दिनभित्रै सुरुङ भरिनेछ। भरिएको पानी खाली गरेर सुरुङको अवस्था हेरेर पानी पुनः प्रवेश गराइने छ। त्यसपछि स्थानीय चाकु बजारको बाँधबाट प्रवेश गराइएको पानी पेनस्टक पाइपमार्फत आयोजनाको बाह्रबिसेस्थित जम्बुमा निर्माण भएको पावर हाउसको मेसिनमा पठाइनेछ। केही दिनभित्रै ‘नन–लोड’ उत्पादन सुरु गर्ने सिवाकोटीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘केही दिनअघि पानी पठाउँदा सुरुङको एउटा गेटमा समस्या भएको थियो। त्यसलाई मर्मत गरेर पुनः पानी पठाइएको हो।’

आयोजनाको पावर हाउसमा तीन वटा मेसिन जडान गरिएको छ भने हाइड्रोमेकानिक्स र इलेक्ट्रोमेकानिक्ससम्बन्धी सबै काम पूरा भइसकेको छ। आयोजना बाँध, सुरुङ, पावर हाउससहित सिभिल संरचनाको काम चिनियाँ र हाइड्रो एवं इलेक्ट्रो मेकानिकलको काम भारतीय ठेकेदारले गरिरहेका छन्।

चिलिमे जलविद्युत कम्पनी मुख्य प्रवर्द्धक रहेको उक्त आयोजना निर्माण सुरु भएको दशक बितेको छ। कोभिड, भूकम्प, बाढीपहिरो, स्थानीय अवरोध र आयोजनाकै आन्तरिक व्यवस्थापन चुस्त नभएका कारण निर्माणमा ढिलाइ भएको थियो। निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत प्रतिमेगावाट झन्डै २० करोड पुग्ने अनुमान छ।

२०६८ सालमा आयोजना सुरु गर्दा करिब १३ देखि १४ करोडको अनुमान गरिएको थियो। कम्पनीले ऋणदाता कर्मचारी सञ्चय कोषलाई अहिले दैनिक ४० लाखभन्दा बढी व्याज मात्र तिर्ने गरेको छ। आयोजनामा विद्युत् प्राधिकरण, चिलिमे, प्रभावित वासिन्दा, स्थानीय लगानी कम्पनी तथा सर्वसाधारण शेयरधनीले लगानी गरेका छन्।