सुनकोसी–मरिन डाइभर्सनमा सुरुङ खन्ने टीबीएम सुरक्षित
2024-02-07 16:13:31cri
Share with:

निर्माणाधीन सुनकोसी–मरिन डाइभर्सनको सुरुङभित्रको पहिरोमा फसेको टनेल बोरिङ मेसिन (टीबीएम) निकालेर सुरक्षित गरिएको छ। २२ जना कामदार लगाएर बाइपास निर्माण गरी टीबीएमको कटरहेड सुरक्षित गरिएको सुनकोसी–मरिन डाइभर्सन बहुउद्धेश्यीय आयोजनाले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ। 

दाँया–बायाँ र माथिबाट जमिन बगेकाले सुरुङ खन्ने टीबीएम अगाडि बढ्न नसक्दा डेढ महिना अघिदेखि काम रोकिएको छ। १३ दशमलव ३ किलोमिटर लम्बाइ रहेको सुरुङ खन्ने काममध्ये १० हजार ५ सय ४४ मिटर खनिएको छ। अब २७ सय ५६ मिटर सुरुङ खन्न बाँकी छ।

आयोजना प्रमुख मित्र बरालका अनुसार टीबीएमको मुख्यभाग कटरहेडसम्म बाइपास सुरुङ निर्माण गरिएको छ। सय मिटरसम्मको अगाडिको भाग पहिरो खस्ने प्रकृतिको नै भएकाले कसरी अगाडि बढ्ने भनेर विज्ञहरूसँग परामर्श भइरहेको समेत उहाँले जानकारी दिनुभयो।

सुनकोसी गाउँपालिका–७ ट्याङट्याङ खोलामुनि सुरुङ खन्ने मेसिन टीबीएम फसेको छ। सुरुङ खन्ने काम २०७९ असोज २८ गतेबाट सुरु भएको थियो। यसअघि पनि पटक–पटक गरी दुई महिना सुरुङ खन्ने काम रोकिएको थियो। मेसिनको अगाडि पुरिएको भागलाई सुरक्षित गरिएकाले पुन कटर जडान गरेपछि काम सुरु हुने आयोजनाले जनाएको छ। यसका लागि १० दिन जति लाग्ने आयोजनाको भनाइ छ।