हिमालयन हाइड्रो एक्स्पो वैशाख १२ देखि
2024-02-08 16:13:28cri
Share with:

आगामी वैशाख दोस्रो साता नेपालमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा ‘समृद्धिका लागि हरीत उर्जा’ नाराका साथ वैशाख १२ देखि १४ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुन लागेको कान्तिपुर अनलाइनले लेखेको छ।  

फेब्रुअरी ७ तारिख बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले उर्जामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ। सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र तयार गरेको सन्दर्भमा उर्जा विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो। नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानले जनाएको छ।

एक्स्पोबाट २५ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय व्यवस्थापन, निर्माण उपकरण तथा प्रविधिको आदान प्रदान हुने इप्पानको अपेक्षा छ। एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेण्ट, डण्डी लगायतका दुई सय स्टल रहनेछ। ती मध्ये ५० प्रतिशत विदेशी स्टल हुने इप्पाले जनाएको छ।

एक्स्पोको स्टल बुकिङ बुधबारदेखि नै खुल्ला गरिएको एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताउनुभयो। स्टलका साथै एक्स्पोका सम्बन्धमा जानकारी लिन चाहने प्रदर्शकहरुलाई इप्पान तथा इभेण्ट सोलुसनमा सम्पर्क गर्न पनि प्रधानले आग्रह गर्नु भएको छ। एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया हुनेछ।

‘भारतमा १० हजार मेगावाट, बंगलादेशमा ५ हजार मेगावाट र १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक रुपमा खपत गर्ने योजना सरकारले अघि सारेको छ,’ उहाँले भन्नुभयो ‘नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता पनि भर्खरै भएको छ। यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो।’ हाल २९ सय १ मेगावाट जडित क्षमता रहेकोमा निजी क्षेत्रबाट मात्र सोलारसहित १७१ आयोजना निर्माण भई २२ सय १४ मेगावाट उर्जा उत्पादन भइ सकेको इप्पानले जनाएको छ।

३३ सय ९७ मेगावाट बराबरका १३१ आयोजना निर्माणाधीन अवस्थामा छन् भने ३६ सय १५ मेगावाट बराबरका १३८ आयोजना विद्युत खरिद सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको चरणमा रहेको इप्पानले जनाएको छ। करिब १९ हजार ६२३ मेगावाट बराबरका २५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा भए पनि नतिजाउन्मुख अवस्था नभएको इप्पनका उपाध्यक्ष आशीष गर्गले बताउनुभयो। ‘तथ्यांक एकातिर छ, वास्तविकता अर्कैतिर भएको अवस्थामा सरकारको उर्जा उत्पादनको लक्ष्य पुरा गर्न ठुलो लगानी आवश्यक छ, यसलाई सघाउन पनि इप्पानले एक्स्पो आयोजना गर्न लागेको हो’, उहाँले भन्नुभयो।