नेपालमा पहिलोपटक चिनियाँ वसन्त महोत्सवको भव्य शुरुआत
2024-02-08 16:11:10cri
Share with:


 चिनियाँ परम्परागत नयाँ वर्ष र बसन्त चाडको उपलक्ष्यमा फेब्रुअरी ७ तारिख बुधबार काठमाडौंको रत्नपार्कमा चिनियाँ रातो लाल्टिन बालिएको छ। साँझ ५ बजे चिनियाँ दीप (रातो लाल्टिन) प्रज्वलनको उद्घाटन पर्यटन मन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले गर्नुभएको जनआस्था अनलाइनले लेखेको छ। 

चिनियाँ बसन्त उत्सवको उपलक्ष्यमा यस प्रकारको कार्यक्रम नेपालमा भएको सम्भवतः यो पहिलो पटक हो। चिनियाँ परम्परागत पर्वको रौनकको रुपमा केही दिनसम्म उक्त लाल्टिन बालिने जनाइएको छ। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राजदूतले अरुको घरको बत्ती निभाएर आफ्नो घर उज्यालो नहुने विश्वास व्यक्त गर्नुभयो। 

त्यसैगरी संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ३५ सय बर्षदेखि मनाउन थालिएको बसन्त चाडको इतिहास र दुई मुलुकबीचको घनिष्ठ मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गर्नुभयो। 

आगामी शनिबारदेखि शुरु हुने चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाडको उपलक्ष्यमा काठमाडौँमा विभिन्न कार्यक्रम आयोजना गरिँदै छ। शुक्रबारदेखि राजधानीका विभिन्न स्थानमा ड्रागन,सिंह र किरिन नृत्य प्रस्तुत गरिँदै छ। शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म ठमेलमा,शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म दरबारमार्गस्थित महेन्द्रको शालिकमा र आगामी बुधबार हाँडीगाउँ गहनापोखरीमा नृत्य देखाइने तालिका छ। 

सोही दिन साढे १ बजेदेखि ३ बजेसम्म भक्तपुर दरबार स्क्वायर, साढे ४ बजेदेखि ६ बजेसम्म पाटन दरबार स्क्वायरमा नयाँ वर्षको उपलक्ष्यमा डगन, सिंह र किरिन नृत्य देखाउने बताइएको छ।

शनिबार दिउँसो २ बजेदेखि दशरथ रंगशालामा नेपाल–चीनबीच मैत्री फुटबल प्रतियोगिता राखिएको छ। सोमबारदेखि बुधबारसम्म टुँडिखेलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चिनियाँ नयाँ वर्ष महोत्सवको आयोजना गरिँदै छ। महोत्सवमा खानाका परिकार, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायत हुने छ।