‘टुर दि ठाकुरद्वारा’मा भारत–चीनका साइकलयात्रीको सहभागिता
2024-02-09 18:40:34cri
Share with:

माघ २६ र २७ गते अर्थात् फेब्रुअरी ९ र १० मा हुने ‘टुर दि ठाकुरद्वारा’ मा भारत र चीनका साइकलयात्रीको पनि सहभागिता रहने भएको छ। कार्यक्रममा दुईसय बढी साइकलयात्री सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लब टुर दि ठाकुरद्वाराका कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। 

नेपालगन्ज साइक्लिङ क्लबले बाँके र बर्दियाका धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्द्धनका लागि विगत ६ वर्षदेखि टुर दि साइकलयात्रा सञ्चालन गर्दैआएको छ। 

कार्यक्रम संयोजक निरौलाले भन्नुभयो, ‘बाँकेको बागेश्वरी मन्दिर हुँदै बर्दियाको ठाकुरद्वारासम्म सञ्चालन हुने यात्रा १०४ किलोमिटर लामो छ।’ कार्यक्रम संयोजक निरौलाले तयारी पूरा भएको जानकारी दिनुभयो। बागेश्वरी मन्दिरबाट सुरु भई साइकलयात्रा कोहलपुर, बर्दियाको केदारेश्वर धाम, सत्खलुवा हुँदै ठाकुरद्वारा मन्दिरसम्म पुग्नेछ। 

२६ गते बिहान नेपालगन्जको बागेश्वरीबाट सुरु हुने यात्रा बाँके र बर्दियाका विभिन्न धार्मिक र पर्यटकीयस्थल पुगेर ठाकुरद्वारा पुग्नेछ। यात्रामा सहभागी हुने साइकलयात्रीहरुमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दैआएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो। 

यसवर्ष २७ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो। टुर दि ठाकुरद्वारा साइकल यात्राको अघिल्लो दिन बिहीबार बिहान नेपालगञ्जको वाटरपार्कमा किड्स साइकल दौड सञ्चालन गरिएको छ।