नेपाल–चीनको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालन गर्न विशेष ध्यान दिइने नेपालका प्रधानमन्त्रीको भनाइ
2024-02-10 17:29:54cri
Share with:


 नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने बताउनु भएको छ। नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४ औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई सरकारले विशेष ध्यान दिएको बताउनु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ।

प्रचण्डले तातोपानीलगायत उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताउनुभयो। ‘मैले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात सबैभन्दा धेरै प्राथमिकता नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सुचारु र व्यवस्थित गर्ने विषयमा दिएको छु, जसका कारण तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको छ।’ उहाँले भन्नुभयो,‘यस क्षेत्रको वस्तुगत आवश्यकताका दृष्टिले ती पर्याप्त छैनन् र आगामी दिनमा थप कुटनीतिक पहलमार्फत सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित तुल्याउनुपर्छ भन्नेमा म पूर्णतः जानकार र सचेत छु।’

प्रधानमन्त्री प्रचण्डले चीनबाट आयात गर्ने र चीनमा निकासी गर्ने धेरै व्यापारी व्यवसायीहरु क्रियाशील रहेको उल्लेख गर्नुभयो। ‘मित्रराष्ट्र चीनसँग आयात/निर्यात गर्ने नेपाली व्यापारीहरुको प्रयासमा वि.सं. २०५५ सालमा तातोपानी व्यापार सहयोग संघको नामबाट एउटा सानो कोठामा स्थापना भएको संस्था हाल नेपाल हिमालय सीमापार वाणिज्य संघको रुपमा परिणत भई चीनसँग व्यापार गर्ने साथीहरुको छाता संगठनको रुपमा विकसित र बिस्तारित भएको तथ्य मलाई जानकारी छ। १००२ जना सक्रिय सदस्य आबद्ध रहेको यस संस्थामा चीनबाट आयात गर्ने र चीनमा निकासी गर्ने धेरै व्यापारी व्यवसायीहरु क्रियाशील हुनुहुन्छ। संस्थाका सम्पर्क युनिट उत्तरी भन्सार नाका तातोपानी र रसुवामा रही सीमापार व्यापार व्यवस्थापनमा यहाँहरुले उल्लेख भूमिका खेल्नुभएको छ।’ उहाँले भन्नुभयो,‘संस्थाले चीनसँगको व्यापार उत्तरी नाकाबाट गराउन उत्तरी क्षेत्रमा आएका प्राकृतिक प्रकोप, बाढी पहिरो तथा कोरोना महामारीका समयमा विभिन्न सहयोगात्मक कार्यहरु गरी आयात–निर्यात अविछिन्न रुपमा गर्न सहयोग गरिरहेको छ। प्राकृतिक विपत्ति र महामारीका समयमा सडक सञ्जालको व्यवस्थापन, स्वास्थ्य सामग्रीहरुको प्रबन्ध, जनचेतनामूलक कार्यक्रम गरी संस्थाले सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण काम गरिरहेको छ।’

नेपाल हिमालय सीमापार वाणिज्य संघले आफ्नो मात्र व्यापार व्यवसायमा सीमित नेपाल सरकारको हरेक क्रियाकलाप रचनात्मक सहयोग समेत पुर्‍याउँदै आएको प्रधानमन्त्री भनाइ छ। उहाँले भन्नुभयो,‘सरकारले अवलम्बन गरेका नीति निर्देशनहरु, कर, भन्सार तथा व्यापार सहजीकरणमा महत्वपूर्ण सहयोग पुर्‍याएको छ। साथै द्विपक्षीय तथा क्षेत्रीय व्यापार विस्तारका लागि सहकार्य र समन्वयात्मक काम गरिरहेको छ। यसका निम्ति यहाँहरुप्रति आभार प्रकट गर्दछु।’

उहाँले आफ्नो चीन भ्रममा गहन छलफल गरेको उल्लेख गर्नुभयो। ‘गत असोजमा सम्पन्न चीन भ्रमणका क्रममा मैले सीमा क्षेत्रको विकास, यहाँका स्थानीय बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका साथै नेपाल–चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ।’ उहाँले थप्नुभयो, ‘यस ऐतिहासिक भ्रमणका क्रममा चीन सरकारसँग नेपाल र चीन सरकारबीच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण, सन् १९८१ को नेपाल–चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच एमओयूमा हस्ताक्षर, हिल्सा–सिमिकोट सडक परियोजनाबारे सम्झौता लगायतका दर्जनौं विषयमा सम्झौता भएका छन्, जसले सीमापार व्यापार प्रवर्धनका क्षेत्रमा समेत गुणात्मक अर्थ राख्दछन्।’