चीनसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी
2024-02-11 16:39:58cri
Share with:

नेपाल र चीनबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ। चिनियाँ नयाँ वर्ष वसन्त चाडका अवसरमा काठमाडौँस्थित दशरथ रङ्गशालामा फेब्रुअरी १० तारिख शनिबार भएको खेलमा नेपाली यू–२३ टोलीले चिनियाँ टोलीलाई ५–१ गोलले हराएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपालको जितमा समिर तामाङले दुई गोल गर्नुभयो। छिरिङ लामा, सञ्जिव विष्ट र निराजन धामीले एक एक गोल थप्नुभयो। चिनियाँ टोली चिङ्घाइ फुटबल क्लबका लागि जासी पेङ्कोउले सान्त्वना गोल गर्नुभयो। नेपालका सञ्जिवले खेल सुरु दोस्रो मिनेटमै  हड गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो। 

३९औँ मिनेटमा समिरले गोल गर्दै पहिलो हाफमा नेपालको अग्रता दोब्बर बनाउनुभयो। समिरले ५४औँ मिनेटमा ब्यक्तिगत दोस्रो गर्नुभयो। ६३औँ मिनेटमा छिरिङले गोल गर्दै नेपालको अग्रता थप बलियो बनाउनुभयो। ७५औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई सहज जिततर्फ लग्नुभयो। चीनका लागि पेङ्कोउले ७८औँ मिनेटमा एक गोल फर्काए पनि टोलीको हार टरेन।

मैत्री खेलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन सङ, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो। उद्घाटन अघि सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले खेलकुदको माध्यामबाट दुई देशबिचको मित्रताले थप उचाई लिएको बताउनुभयो।

‘‘चीन विश्व खेलकुदमा उत्कृष्ट रहेको छ। ओलम्पिक, एीसयाली जस्ता प्रतियोगिताहरुमा चीनले गरेको प्रगतिबाट सबैले सिक्न र सहयोग लिन सक्नु पर्दछ। चिनियाँ नयाँ बर्षको उपलक्ष्यमा सबैलाई शुभकामना दिन चाहन्छु,’’ तिमिल्सिनाले भन्नुभयो। 

चिनियाँ राजदूत छन सङले नेपाल चीन मित्रता सँधै अमर रहने बताउनुभयो। ‘‘दुई देशको मित्रतालाई खेलकुदको माध्यमबाट अझ प्रगाढ बनाउन सहयोग पुगेको छ। मैत्रीपूर्ण खेलले चीन र नेपालको सांस्कृतिक आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको छ। चिनियाँ नयाँ बर्ष र सोनाम ल्होसारको अवसरमा सबैलाई शुभकामना दिन चाहन्छु। नेपाल र चीनको सम्बन्ध सदा अटल रहिरहनेछ,’’ राजदूत छनले भन्नुभयो। मैत्रीपूर्ण खेलसँगै रंगशालामा नेपाल र चिनियाँ विभिन्न सांगितीक प्रस्तुति दिएका थिए। 

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको हो। प्रतियोगिताको सहआयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसीज चीनियाँ सङ्घ रहेको थियो।