नारायणी नदी किनारमा राष्ट्रिय चिया प्रदर्शनी
2024-02-11 16:42:33cri
Share with:

राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा फेब्रुअरी ११ तारिख आइतबारदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ। शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने लक्ष्य लिइएको कारोबार अनलाइनले लेखेको छ।

कृषि तथा पशु विकासमन्त्री डा वदुराम भुषालले उक्त प्रदर्शनी शुभारम्भ गर्दै विगतमा देशको सम्बृद्धिका लागि कृषिमा जुन प्रकारको विकास गरिनुपथ्र्यो हुन नसके पनि अहिलेको सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएकाले केही हदसम्म विकास भएको बताउनुभयो। बजारमा माग भएका खेतीमा ध्यान दिन आग्रह गर्दै उहाँले चिया पनि सोही खेतीअन्तर्गत पर्छ भन्नुभयो।

चितवनमा पहिलोपटक आयोजना गरिएको प्रदर्शनीले चिया सेवनको विधि, चिया संस्कृतिको विकास र नेपाली चियाको आन्तरिक बजार प्रवर्द्धन हुने उद्देश्य लिइएको छ। बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईका अनुसार नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउनाका साथै यसका फाइदाबारे जानकारी दिने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो।

‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ चियाको प्रदर्शनी गरिएको छ। प्रदर्शनीमा चिया उत्पादन हुने मुख्य जिल्ला झापा, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, ललितपुर, कास्कीदेखि पश्चिमसम्म उत्पादित चिया रहेको उहाँले जानकारी दिनुभयो। नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रमा आबद्ध चिया व्यवसायीबाट उत्पादित चियाका ब्राण्डलाई समावेश गरिएको छ।

प्रदर्शनीमा सयभन्दा बढी चिया व्यवसायीको सहभागिता रहेको छ। चिया प्रदर्शनी कार्यक्रमले आगामी दिनमा नेपाली चियाको आन्तरिक बजार विस्तार गर्दै स्वदेशी चियामा उपभोक्ता अझ बढी आकर्षित हुने विश्वास लिइएको छ। प्रदर्शनीमा सहआयोजकमा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन, चियासँग सम्बन्धित विभिन्न संघसंस्था छन् भने प्रवर्द्धनमा भरतपुर महानगरपालिका रहेको छ।