नेपाल स्पोर्ट्स एक्स्पो आगामी वर्षको असोजमा
2024-02-13 15:58:18CRI
Share with:

नेपाल स्पोर्ट्स एक्स्पो २०२४ आयोजना हुने भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आयोजनामा हुने एक्स्पो आगामी वर्षको असोज ३ देखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१ सम्म) काठमाडौंको वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा हुने कारोबार अनलाइनले जनाएको छ। 

खेलकुद सामग्रीबिना शैक्षिक सामग्री अपुरो र अधुरो हुने कुरालाई मनन गर्दै एक्स्पो आायेजना गर्न लागेको महासंघका महासचिव शिवसागर शर्माले बताउनुभयो। उहाँले असोज ३ देखि ५ गतेसम्म चल्ने एक्सपोमा नेपाल, भारत लगायत अन्य देशहरुका समेत गरी सय वटा खेलकुद सामग्रीका उत्पादक कम्पनीका स्टल रहने जनाउनुभयो। 

उत्पादक कम्पनीहरुको उपस्थितिमा हुने कार्यक्रममा देशभरबाट आयातकर्ता, वितरक, खुद्रा विक्रेता र उपभोक्ता एवं सर्वसाधारण गरी करिव ५ हजार जनाको उपस्थिति रहने अपेक्षा गरिएको छ। शिक्षण सिकाइमा आवश्यक शैक्षिक सामग्री तथा खेलकुद सामग्रीको आयात, प्रयोग र उपभोगमा सहजता ल्याउने अपेक्षा आयोजकको रहेको छ। 

उत्पादक, आयातकर्ता र खुद्रा बिक्रेताको अन्तरक्रियाबाट स्वदेशमै उत्पादन र प्रयोगमा उत्प्रेरणा जगाउने विश्वास लिएको महासचिव शर्माले बताउनुभयो। गुणस्तरीय शिक्षाका लागि पाठ्यपुस्तक, कापी, कलममात्र शैक्षिक सामग्री नभइ अन्य धेरै कुरा जोडिन आवश्यक रहेको आयोजकको ठहर छ ।