१२ वर्षमा नेपालीको जीवनस्तरमा उल्लेखनीय सुधार आएको सर्वेक्षणको ठहर
2024-02-14 15:36:20CRI
Share with:

गएको १२ वर्षमा नेपालीको जीवनस्तरमा उल्लेखनीय सुधार आएको नेपाल जीवनस्तर सर्वेक्षण २०८० ले देखाएको छ । नेपाली जनताको स्वामित्वमा भएको सम्पत्ति, उनीहरुले खाने खाना तथा पाउने गरेको सेवा सुविधाका दृष्टिबाट हेर्दा जीवनस्तर बढेको देखिएको हो।

१२ वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति खर्च ६६ प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सर्वेक्षणले देखाएको छ । सबैभन्दा गरिब जनताको प्रतिव्यक्ति खर्च औसतभन्दा पनि बढी ६८ प्रतिशतले बढेको कार्यालयले जनाएको छ। 

आफ्नै कार, मोटरसाइकललगायत सम्पत्ति हुने घर परिवारको संख्या पनि यस अवधिमा उल्लेख्य रुपमा बढेको छ । २०६८ सालमा ० दशमलव ८ प्रतिशत परिवारसँग आफ्नै कार थियो । अहिले त्यो दुई गुणाभन्दा धेरैले बढेर १ दशमलव ८२ प्रतिशत पुगेको छ। 

त्यस्तै १२ वर्षअघि ९ दशमलव १८ प्रतिशतसँग मोटरसाइकल रहेकोमा त्यो पनि अढाइ गुणाले बढेर २५ दशमलव २५ प्रतिशत पुगेको छ । कम्युटर, पंखा तथा टेलिफोन-मोबाइल हुने परिवारको संख्या पनि उल्लेखनीय रुपमा बढेको देखिन्छ । 

मुलुकको ९४ प्रतिशत घरमा बिजुलीको पहुँच पुगेको छ, जुन १२ वर्ष पहिले जम्मा ७० प्रतिशत मात्रै थियो । 

नेपाली घरपरिवारले पोसिलो खानामा गर्ने खर्चको हिस्सा बढ्दै गएको छ । खासगरी फलफूल, तरकारी तथा मासुमा उनीहरुले गर्ने खर्च बढेको देखिन्छ भने अन्नमा गर्ने खर्चको हिस्सा भने कम भएको अनलाइनखबरले जनाएको छ।