नेपालमा पर्वतारोहणसम्बन्धी नियमावली संशोधनको काम अघि बढाइँदै
2024-02-14 15:51:58CRI
Share with:

सगरमाथा आरोहण गर्दा विदेशीले बुझाउने सलामी दस्तुरलाई प्रतिआरोही ११ हजार अमेरिकी डलर (१४ लाख ५९ हजार) बाट २० हजार डलर १९ लाख ९० हजार पुर्‍याइने भएको छ । पर्यटन विभागले ७ वर्षअघि जारी गरेको पर्वतारोहण दस्तुरलगायत केही नियमावलीलाई संशोधन गर्दै विश्वभर पर्यटन व्यवसायीमाझ सर्वाधिक चासो व्यक्त हुने सगरमाथाको आरोहण दस्तुरलाई झन्डै २० लाख हाराहारी पुर्‍याउन लागिएको हो ।

विभागले दस्तुरसहित पर्वतारोहणसम्बन्धी नियमावली संशोधनको काम अघि बढाएको छ । हाल नियमावलीको मस्यौदा कानुन मन्त्रालय पुगेको विभागका महानिर्देशक चक्रबहादुर बुढाले जनाउनुभयो । ‘अर्थको राय प्राप्त भइसक्यो,’ महानिर्देशक बुढाले भन्नुभयो, ‘कानुनको राय आइसकेपछि मन्त्रिपरिषद्ले पारित गरेसँगै नयाँ नियमावली लागू हुन्छ ।’

नेपालले ५ हजारदेखि ८ हजार ८ सय ४८.६८ मिटरसम्मका ३ सय २६ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । नयाँ नियमावली पारित भएपछि अरू हिमालको पनि साविकको सलामी दस्तुर वृद्धि हुने विभागले जनाएको छ । हाल विभागले सञ्चालन गर्ने हिमाल वर्षमा चार सिजन आरोहणका लागि खुला गरिन्छन्, जसमा नेपाली र विदेशीलाई फरक–फरक सलामी दस्तुर लिने गरिन्छ । सगरमाथा आरोहणमा नेपाली आरोहीले वसन्तकालीन याममा ७५ हजार रुपैयाँ सलामी दस्तुर तिर्नुपर्छ । 

६५ सय मिटरमुनिका हिमालमा नेपाली आरोहीले न्यूनतम ४ हजार रुपैयाँ सलामी दस्तुर तिरे पुग्छ । विदेशीले भने ६५ सय मिटरभन्दा मुनिका हिमालमा २ सय ५० डलर तिर्नुपर्छ । भर्खरै सकिएको शीतकालीन याममा विभागले ५२ वटा हिमाल आरोहण अनुमतिबाट ७ करोड ६६ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको थियो । यो सिजनअघि वसन्तकालीन याममा विभागले २८ वटा हिमालमा आरोहण अनुमति दिँदा ७६ करोड ५७ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको थियो ।