अघिल्लो महिना अर्थात् माघमा साढे ३४ करोड वैदेशिक लगानी प्रतिवद्धता
2024-02-14 15:41:19CRI
Share with:

चालु आर्थिक वर्षको माघमा वैदेशिक लगानी प्रतिवद्धता निराशाजनक देखिएको छ । उद्योग विभागमार्फत प्राप्त हुने लगानी प्रतिवद्धता यो महिा ३४ करोड ५० लाख रुपैयाँमा खुम्चिएको हो। परियोजनाको स्वीकृति संख्या र प्रतिवद्धता रकम यो अहिलेसम्मकै कम हो । विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ११ अर्ब ९३ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो । भदौमा ५१ वटा नयाँ उद्योगमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको थियो । 

यस्तै, असोजमा १ अर्ब ९८ करोड लगानीका ४० परियोजना दर्ता भएकोमा कात्तिकमा १ अर्ब ७५ करोड रुपैयाँका २७ परियोजना दर्ता भएका थिए । मंसिरमा २ अर्ब २५ करोडको लगानी प्रतिवद्धता रहेकामा पुसमा ४ अर्ब ८५ करोड २० लाख रुपैयाँ बराबरका २० वटा औद्योगिक परियोजना स्वीकृत भएका थिए। माघमा भने लगानी प्रतिवद्धता घटेर ३४ करोड ५० लाखमा सीमित भएको छ । यो तथ्यांकले मुलुकको बिग्रँदो लगानी वातावरणलाई प्रतिबिम्बित गरेको सरोकारवाला बताउँछन् । आगामी वैशाख तेस्रो साता लगानी सम्मेलनको तयारीमा जुटेको सरकारलाई वैदेशिक लगानीको यो निराशाजनक तथ्यांकले चुनौती थपिदिएको छ । सरकारले लगानी सम्मेलनलाई प्रतिष्ठाको विषय बनाई यसअगावै नीतिगत सुधारका खाका सार्वजनिक गरेको छ । 

कारोबार अनलाइनका अनुसार माघमा जम्मा १५ परियोजनाका लागि साढे ३४ करोडको लगानी प्रतिवद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ। माघको एफडीआई स्वीकृति चालु आवको सबैभन्दा कममात्र नभई गत आवमा पनि यति न्यून परिमाणमा कुनै महिना एफडीआई स्वीकृत नभएको विभागका अधिकारीहरु बताउँछन्।

निजी क्षेत्रले भने स्वदेशी लगानीकर्तामाथिको निरन्तर आक्रमण र पुराना कानुनका आधारमा लगानीमैत्री वातावरण बिगार्ने सरकारीको गतिविधिका कारण आन्तरिकसँगै बाह्य लगानी पनि आकर्षित हुन नसकेको टिप्पणी गरेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अर्थतन्त्रमा बहुआयामिक समस्या रहेको र यसको असर आन्तरिक र बाह्य लगानीका क्षेत्रमा रहेको बताउनुहुन्छ। ‘आन्तरिक क्षेत्रको समस्या यथावत् रहँदासम्म बाह्य क्षेत्र र रेमिटेन्स बढेर मात्र अर्थतन्त्र सुधार हुँदैन रहेछ भन्ने देखिएको छ,’ उहाँ भन्नुहुन्छ, ‘उद्योग–व्यवसाय बचाउन अब पुनर्कर्जा, पुनर्तालिका र पुनरावलोकन मात्रले नपुग्ने हुन्छ। त्यसैले पुनरुत्थान तथा प्रोत्साहन प्याकेज ल्याउन सरकार र नियामकीय निकायको ध्यान जानुपर्छ ।’ 

विभागका सूचना अधिकारी अर्जुन सेन ओलीका अनुसार माघमा दर्ता भएका उद्योगमध्ये १५ वटै साना लगानीका रहेका छन् । मध्यम र ठूला लगानीका उद्योग दर्ता भएका छैनन् । अघिल्ला महिनामा देखिएको सुधारका कारण चालु आवको माघसम्म २२ अर्ब ६८ करोड रुपैयाँका २४१ परियोजना स्वीकृत भइसकेका छन् । 

माघसम्मको उद्योग दर्ताबाट १२ हजार ६९२ को संख्यामा रोजगारी सिर्जना हुने विभागले जनाएको छ । सात महिनासम्ममा तीन ठूलासहित १२ मध्यमस्तरीय र २२६ साना उद्योग दर्ता भएका छन् । सरकारले गत आवमा वैदेशिक लगानीको सीमा घटाएर २ करोड रुपैयाँमा सीमित गरेसँगै साना उद्योग दर्ता भने केही बढेको पाइएको छ ।

यसैबीच वैदेशिक लगानी प्रतिवद्धतामा निराशाजनक स्थिति देखिए पनि खुद प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा भने उत्साहजनक अवस्था देखिएको छ। राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोडले धनात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड ९४ लाख रुपैयाँमात्रैले धनात्मक थियो।