तीन करोड पचास लाखको रातो गुलाफको कारोबार
2024-02-15 15:45:29CRI
Share with:

प्रणय दिवसका अवसरमा खपत हुने स्टिम गुलाफका लागि पनि भारतकै भर पर्नुपर्छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले प्रणय दिवसमा नेपालमा माग हुने स्टिम गुलाफमध्ये ९० प्रतिशत भारतको भर पर्नुपर्ने अवस्था रहेको जनाएको छ । 

फ्यानका अनुसार प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेकोमा ३५ हजार गुलाफ स्वदेशमा उत्पादन हुन्छ भने बाँकी तीन लाख १५ हजार स्टिम गुलाफ भारतबाट आयात गर्नुपर्छ । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले स्टिम गुलाफको मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको बताउनुभयो । 

माग अनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उहाँको भनाइ छ। यस वर्ष रातो गुलाफ प्रतिस्टिम ८० देखि १२० रुपियाँसम्म पर्ने गरेको अध्यक्ष तामाङले बताउनुभयो । पछिल्ला वर्षमा प्रणय दिवस साताव्यापी रूपमा मनाउन थालिएको छ । 

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ। प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्छ तर उक्त दिनभन्दा एक साताअघिदेखि नै यो दिवस मनाउने प्रचलन छ । प्रेमको प्रतीक मानिने रातो गुलाफ प्रेम जोडीले एकअर्कालाई दिएर यो दिवस मनाउने गर्छन्।

फ्यानका अध्यक्ष तामाङले कुल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रणय दिवसमा मात्रै रातो गुलाफको तीन करोड ५० लाखभन्दा बढीको कारोबार हुने गरेको छ । वार्षिक तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेको छ।