निर्यातमा नाफाको गन्तव्य बन्दै अमेरिका, आर्थिक वर्षको पहिलो ६ महिनामा ७० करोड रुपैयाँ नाफामा
2024-02-15 15:34:51CRI
Share with:

मुलुकको निर्यात व्यापार खस्किए पनि अमेरिकासँगको व्यापार नाफामा देखिएको छ । सुरुका वर्षमा अमेरिकासँग आयातनिर्यात व्यापारमा घाटा भए पनि गत वर्षदेखि नाफामा गएको हो । अमेरिकासँगको व्यापार गत वर्ष १५ करोड नाफामा रहेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७० करोड रुपैयाँ नाफा भएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा १९ अर्ब ४२ करोडको वस्तु आयात भएकोमा १९ अर्ब ५७ करोडको निर्यात भएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६३ करोडको आयात हुँदा ८ अर्ब ३३ करोडको निर्यात भएको जनाएको छ । विभागका अनुसार निर्यात हुने पहिलो नम्बरमा भने भारत नै पर्छ । तर भारतसँग व्यापार घाटा छ । ६ महिनामा भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोडको आयात हुँदा ५० अर्ब ४४ करोडको निर्यात भएको छ । अर्थात् यस अवधिमा भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँ घाटा भएको छ ।

अमेरिकाले दिएको भन्साररहित बजार पहुँच सुविधाका कारण नेपालको निर्यात व्यापारमा यो मुलुक लगातार दोस्रो नम्बरमा रहेको छ । ‘पहिलो नम्बरमा छिमेकी मुलुक भारत भए पनि दोस्रोमा अमेरिका गन्तव्य बन्दै छ । सुविधाको सही सदुपयोग भए नाफा थप बढ्न सक्छ,’ पूर्ववाणिज्य सहसचिव रवि सैंजूले भन्नुभयो । व्यापार, लगानी तथा प्राविधिक सहयोग विस्तार र दुई देशबीचको आर्थिक सम्बन्ध सबलीकरण गर्न २०६८ वैशाखमा नेपाल अमेरिकाबीच व्यापार तथा लगानीसम्बन्धी बृहद् सम्झौता (टिफा) भइसकेको छ । यसको मुख्य उद्देश्य व्यापार र लगानी विस्तार हो । २०७२ वैशाखमा नेपालमा भूकम्प गएपछि अमेरिकाले ७७ वस्तुलाई भन्साररहित बजार पहुँच सुविधा दिएको छ । अमेरिकाले हार्मोनाइज्ड ट्यारिफ शेडुलअन्तर्गतका ७७ वस्तुमा समेटिएका नेपाली वस्तुलाई भन्सार छुट सुविधा दिएको छ । जसअन्तर्गत हस्तकला, सल, भ्रमण सामग्री पर्छन् । यी वस्तुको उत्पादन बढाउन सके निर्यात बढ्ने सैंजूको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुविधा पाएको ७७ वस्तुको निर्यात अवस्था हेर्दा ५ वर्षको अवधिमा २ अर्ब ९६ करोड निर्यात भएको देखिन्छ । सन् २०१८ मा ७७ वस्तुको मात्रै ७८ करोड रुपैयाँको निर्यात भएको थियो । त्यसपश्चात् २ वर्ष भने लगातार घटेको देखिन्छ । सन् २०१९ मा नेपालबाट अमेरिकामा ५२ करोड, सन् २०२० मा ३१ करोड रुपैयाँको निर्यात भएको छ । मन्त्रालयका अनुसार सन् २०२१ मा ६४ करोड, सन् २०२२ मा ७१ करोड निर्यात भएको छ । 

सैंजूका अनुसार अमेरिकाले दिएको सुविधा साना उद्यमीले उत्पादन गर्दै आएका छन् । त्यस्ता उत्पादनले पर्याप्त रूपमा बजार पहुँच पाएका छैनन् । सानो परिमाणमा उत्पादन गर्दा गुणस्तरमा पनि प्रश्न उठ्छ । ‘निर्यात गर्ने सन्दर्भमा अमेरिकी दूतावासले बुक निकालेको छ । तर, हामीले ग्रासरुटसम्म पुर्‍याउन सकेनौं,’ सैंजूले भन्नुभयो, ‘ठूलो परिमाण, गुणस्तरीय वस्तु उत्पादन गर्न सक्दैनौं । सम्भावना हुँदाहुँदै निर्यात बढाउन सकेका छैनौं ।’ 

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले गुणस्तरीय उत्पादन बढाउन सके अमेरिका राम्रो बजार हुन सक्ने बताउनुभयो । ‘नेपालले १ सय ५५ मुलुकसँग व्यापार गर्छ, जसमध्ये २७ मुलुकसँगको व्यापार नाफामा देखिन्छ । पहिलो नम्बरमा अमेरिका नै छ,’ उहाँले भन्नुभयो। मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार तथा पारवहन महाशाखा प्रमुख रामचन्द्र तिवारीले सुविधा पाएको वस्तुको निर्यात केही बढे पनि सोचेअनुसार बढाउन नसकेको बताउनुभयो। त्यस्तै, टिफाको हकमा हरेक वर्ष बैठक बस्दै आएको र बैठकले व्यापारमा सहजीकरण गरिरहेको उहाँको दाबी छ । नेपालले गर्ने निर्यात व्यापारमा ६ महिनाको अवधिमा अमेरिकापछि डेनमार्कसँग २७ करोड १४ लाख, नर्वेसँग ६ करोड ४८ लाख, माल्दिभ्ससँग २ करोड ३५ लाख, लाटभियासँग १ करोड ७६ लाख नाफा गरेको कान्तिपुर अनलाइनले खबर लेखेको छ ।