सुनसरी–मोरङ औद्योगिक करिडोरमा १२ हजारभन्दा बढी भारतीय कामदार
2024-02-17 15:40:14CRI
Share with:

रोजगारीको खोजीमा नेपालीहरू भारत र खाडी मुलुकमा लर्को लागिरहेका बेला कोशी प्रदेशको सुनसरी मोरङ औद्योगिक करिडोरमा भने काम खोज्दै आउने भारतीयको भीड छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका साना–ठूला गरेर पाँच सय बढी उद्योगमा कार्यरत झन्डै ५० हजार कामदारमध्ये १२ हजारभन्दा धेरै भारतीय कामदार रहेका छन् । 

उद्योग संगठन मोरङका महाप्रबन्धक चूडामणि भट्टराईले भारतीय कामदारको संख्या केही तलमाथि भइराख्ने भए पनि १२ हजारभन्दा बढी कामदार रहेको प्रारम्भिक तथ्यांक सुनाउनुभयो। उहाँका अनुसार करिडोरका ९० प्रतिशत उद्योगमा भारतीय कामदारको उपस्थिति छ । जसमा मेसिन अपरेटर, सुपरभाइजर, प्लान्ट इन्चार्ज, बोयलर अपरेटरलगायतका प्राविधिक काममा भारतीयको संख्या ठूलो छ । उद्योग संगठनका अनुसार यहाँका उद्योगहरूले भारतीय दूतावासबाट अनुमति लिएर भारतीय कामदार राख्ने गरेका छन् । जसका कारण भारतीय कामदारले दूतावासको अनुमति लिएर सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम झिक्ने र बैंक खाता खोल्ने गरेका छन् । 

करिडोरमा रहेको आरती स्ट्रिप्समा एक हजारभन्दा बढी कामदार छन्, जसमा भारतीय कामदारको संख्या झन्डै सात सयको हाराहारीमा छ । यो उद्योगको लगानीकर्ता, मुख्य व्यवस्थापक र हरेक प्राविधिक पक्षमा भारतीय नागरिक छन् । प्रशासन प्रमुख जीवन तिम्सिनाले कामको दक्षताका आधारमा भारतीयलाई राखिएको बताउनुभयो। ‘श्रम स्वीकृति लिन नपर्ने प्रावधानका कारण उद्योगलाई भारतीय कामदार राख्न सहज भएको छ,’ उहाँले भन्नुभयो। नेपाली दक्ष कामदारको अभावका कारण पनि त्यो स्थान भारतीय कामदारले लिइरहेको भन्दै करिडोरका उद्योगीहरू भारतीय कामदारमा धेरै निर्भर हुनुको कारण उनीहरूले श्रमिक आन्दोलन नगर्ने र आवश्यक परेका बेला सहजै निकाल्न सकिने भएकाले हो भन्ने तर्क पनि अनौपचारिक रूपमा सुनाउँछन् ।

उद्योगभित्र हुने दुर्घटना र भवितव्यका घटनामा पनि भारतीय कामदारको हकमा सजिलै घटना सामसुम पार्न सकिने वा थोरै राहत वा क्षतिपूर्तिमा कुरा मिलाउन सकिने तर नेपालीको हकमा त्यो सम्भव नहुने भएकाले पनि उद्योगीहरूले भारतीय कामदार रुचाइरहेको देखिन्छ । कान्तिपुर अनलाइनका अनुसार श्रम तथा रोजगार प्रदेश कार्यालय विराटनगरका कारखाना निरीक्षक अधिकृत दुर्गा आचार्यले पनि सुनसरी मोरङ औद्योगिक क्षेत्रमा भारतीय कामदार अत्यधिक रहेको बताउनुभयो । प्रायः सबै उद्योगमा भारतीय कामदार रहेको बताउँदै उहाँले कतिपय उद्योगबाट भारतीय कामदारको तथ्यांक कार्यालयमा नआइरहेको जानकारी दिनुभयो । उद्योग निरीक्षणका क्रममा कार्यालयले भारतीय कामदारको विवरण लिने गरेको छ । 

कार्यालयले प्रारम्भिक रूपमा संकलन गरेको विवरणअनुसार रिलायन्स स्पिनिङ मिल्समा २ सय ६ जना, बाबा भेजिटेबल उद्योगमा ४५ जना, स्वस्तिक आयलमा ३४ जना, अरविन्द पल्प एन्ड पेपरमिलमा १८ जना, ट्राइकोट प्रालिमा ४० जना, जयश्री फ्युजटेक उद्योगमा ३८ जनासहित एक दर्जन उद्योगमा मात्र करिब चार सय भारतीय कामदार कार्यरत छन् । नेपाल ट्रेड युनियन महासंघअन्तर्गतको समग्र उद्योग ट्रेड युनियन नेपालका केन्द्रीय उपाध्यक्ष मनोज मगरले भारतीय कामदारको ठूलो हिस्सा प्राविधिक काम, सुपरभाइजर र प्रशासनिक क्षेत्रमा रहेको बताउनुभयो। स्वदेशभित्र विद्यमान दक्ष कामदार अभावका कारण भारतीय कामदारको उपस्थिति देखिएको उहाँको भनाइ छ । उहाँले भारतीय कामदारलाई काम छोड्ने बेला कुनै सुविधा दिन नपर्ने भएकाले पनि उद्योगहरूले ठेक्कामा भारतीय कामदार ल्याइरहेका छन् । सुनसरी, मोरङ र झापामा रहेका प्लाई उद्योगमा सबैभन्दा धेरै भारतीय मजदुर देखिन्छन् । कारखाना श्रमिक संघ कोशी प्रदेशका अध्यक्ष रमेश थापाले तीन जिल्लामा करिब ५ दर्जन प्लाई उद्योग रहेको र तिनमा अधिकांश भारतीय कामदार रहेको बताउनुभयो।