भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु
2024-02-17 15:52:08CRI
Share with:

देशभरिका महिला उद्यमी सम्मिलित दुईदिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ भैरहवामा सुरु भएको छ । ‘महिलाको लगानी, घर घरमा उद्यमी’ नारा भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको अघुवाइमा महासङ्घ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य सङ्घको समन्वयमा पहिलो पटक यस किसिमको सम्मेलन आयोजना भएको हो । 

उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीबारे सम्मेलनमा उपस्थित महिला उद्यमीले ध्यानाकर्षण गराएका छन् । 

साथै थोरै पुँजी लगानीबाटै स्थानीय स्रोत साधनको परिचालन गरी व्यवसाय सञ्चालन गर्न सकिने भएकाले महिला उद्यमी एवं लघु, घरेलु तथा साना उद्योगबाट ठुलो आर्थिक उन्नतिको सम्भावना रहेको पनि उनीहरूले औँल्याएका छन् । 

सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिला उद्यमलाई लागत, खर्च र आयसँग जोड्ने बेला भएको धारणा राख्नुभयो । गाउँका उद्यमलाई सहरसँग जोड्नुपर्ने उहाँको भनाइ छ । महिलाहरूले कम्तीमा ३० हजारभन्दा माथि कसरी कमाउन सक्छन् भन्ने विषयमा लुम्बिनी प्रदेशले उद्यमशीलता कार्यक्रमको तयारी गरेको जानकारी दिनुभयो ।

“अहिले युवाहरू विदेशिने समस्या छ, यस्तो अवस्थामा महिला उद्यमीहरू अग्रसर भई यस्तो सम्मेलन आयोजना गर्नुलाई हामीले ठुलो अवसरका रूपमा लिएका छौँ,” मुख्यमन्त्री चौधरीले भन्नुभयो, “महिला उद्यमशीलता प्रवर्धनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन लुम्बिनी प्रदेश तयार छ ।”